काठमाडौं । सरकारले सिमा क्षेत्रबाट भित्रने तरकारी र कृषिजन्य उत्पादनको विषादी परिक्षण गर्ने निर्णय फिर्ता लिएको भन्दै कृषि सहकारी केन्द्रिय संघले आलोचना गरेको छ । सरकारको यस निर्णयले उपभोक्ता गुणस्तरीय र ताजा कृषि सामग्री उपभोगबाट बञ्चित हुने संघले जनाएको हो ।उत्पादन आयात निर्यात गर्दा त्यसको गुणस्तर तथा विषादी चेकजाचँ अपरिहार्य रहेको संघका अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिए ।
उनले सिमा क्षेत्रमा विषादी परिक्षण केन्द्र स्थापनाका लागि जतिसक्दो छिटो पहल गर्नुपर्ने माग सहति तत्कालका लागि विषादी परिक्षण सम्भव भएका स्थानमा परिक्षण सुरु गर्न आग्रह गरे ।पछिल्लो समय बजारमा विक्रिवितरण भईरहेका कृषि वस्तु उत्पादकका बारेमा जानकारी नहुँदा विषादी सहितको कृषि सामग्री विक्रिवितरण हुँदा समेत कार्वाहीको व्यवस्था गर्न नसकिएको उनले बताए ।
‘हामीले साना किसान र कृषकहरुको आफ्नै बजारको व्यवस्था गर्नुपर्ने माग पटक–पटक गर्दा पनि सरकारले यसतर्फ कुनै चासो नदिएका कारण नेपाली उपभोक्ताहरु गुणस्तरीय कृषि सामग्री उपभोग गर्नबाट बञ्चित भईरहेका छन्,’ पाठकले भने । सरकारले विषादीको परिक्षणका लागि तत्काल तयारी नपुगेका कारणले विषादी परिक्षण फिर्ता लिएको हो । उनले सरकारले तत्कालका लागि विषाली परिक्षणको विकल्प खोज्नुपर्ने उनले बताए ।
कालिमाटी तरकारी तथा फलफुल बजारमा सुरुभएको विषादी परिक्षण केन्द्र प्रभावकारी रुपमा चल्न सकेको छैन । अहिले भएका परिक्षण केन्द्रको प्रभावकारी सञ्चालन र मुख्य—मुख्य बजारहरुमा समेत तरकारी तथा फलफुल परिक्षण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।