सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम धमाधम भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो ।
विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, ‘हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।’ विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उहाँले जानकारी दिए । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।
उनका अनुसार, ‘एक वर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दवाब दिएका कारण कालोपत्रको काम सकिएको हो, अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यन दिनु जरुरी छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो । करीब साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ ।
विगतमा लक्ष्यअनुसार कालोपत्रको काम शुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । ‘विमानस्थलको काम अलपत्र पर्छ कि भन्ने सोचेका थियौँ, अहिले पक्कीको काम सकिएको छ, अब त जहाज चल्ला कि ?’ खड्काले बताए । विमानस्थल कालोपत्रसँगै वरिपरिको जमीन सम्याउने, भवनमा रङरोगन लगाउने र गेट निर्माणको काम पनि सञ्चालन भइरहेको छ । दिपायलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ ।