काठमाडाैं । नेप्सेले विगत ४/५ महिनायता गति लिन थालेको छ । २०१९ को सेप्टेम्बर २९ तारिखका दिन नेप्से परिसूचक ११२५ थियो भने हिजो फेब्रुअरी ११ तारिखका दिन नेप्से परिसूचक १३४१ अंक पुग्यो । यो भनेको करिब १९ प्रतिशतको बढोत्तरी हो ।
तर, नेप्से यो ४/५ महिनामा १९ प्रतिशतले बढेता पनि अन्य उप-समूहहरु भने नेप्से परिसूचक भन्दा एकदमै धेरै वा कम मात्र बढेका छन् ।
नेपाली सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बैंकिङ समूह यो अवधिमा १२ प्रतिशतले मात्र बढेको छ । यो भनेको नेप्से परिसूचक भन्दा पनि करिब ७ प्रतिशतले कम हो ।
यसैगरी विकास बैंकको सूचक यो अवधिमा १९ प्रतिशतले बढेको छ । वित्त कम्पनीहरुको सूचक पनि १९ प्रतिशतले नै बढेको छ, यो अवधिमा । होटलको उप-सूचक ६ प्रतिशतको बृद्धिमा खुम्चिएको छ । जलबिद्युतको बृद्धि पनि नेप्सेको भन्दा थोरै ११ प्रतिशतले मात्र बढेको छ ।
यो अवधिका सबैभन्दा बढि माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । नेप्से १९ प्रतिशतले बढ्दा माइक्रोफाइनान्सको सूचक ५७ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सका लगानीकर्ताले ४/५ महिनामै ५७ प्रतिशतले कमाएका हुन् ।

उता जीवन बिमा कम्पनीका लगानीकर्ताले पनि कम कमाएका छैनन् । उनीहरुले पनि यो अवधिमा ५० प्रतिशतले कमाएका छन् । यसैगरी निर्जिवन बिमा कम्पनीका लगानीकर्ताले पनि ४५ प्रतिशतले कमाएका छन् ।
बैंकहरुको नाफा, सेयर मूल्य र त्यसैका आधारमा कुल लाभांश राम्रै हुँदा पनि बैंक उप–सूचकमा लगानी गर्ने लगानीकर्ताहरुको आफ्नो लगानीमा आकर्षक पूँजी बृद्धि गर्न भने सकेका छैनन् । यद्यपी उता नकारात्मक बृद्धि भएका लघुवित्त कम्पनीहरु र २–३ रूपैयाँ प्रति सेयर आम्दानी भएका बिमा कम्पनीहरुका लगानीकताहरुले आकर्षक पूँजी बृद्धि गरेका छन् ।
बैंकको पूँजी अत्याधिक धेरै र धेरै मानिसहरुसँग उल्लेख्य सेयर संख्या भएको हुनाले तुलनात्मक रुपमा कम पूँजी भएका कम्पनीहरु झैं यो उप–समूहको बृद्धि नभएको हो । साथै, परम्परागत रुपमै केही ठूला भनिएका समुहहरु हावी हुने र स–साना कम्पनीहरुको सेयर ह्वात्तै बढाउने प्रबृत्तिले पनि काम गरेको हुनसक्छ ।
अर्थात सेयर बजारको स्वभावीक नियम अनुसार साना कम्पनीहरु उफ्रेका हुनसक्छन् र ठूला लगानीकर्ताले केही कम्पनीहरु धेरै खेलाएका पनि हुनसक्छन् । यो छुट्याउने जिम्मा भने सचेत लगानीकर्ताहरुकै हो ।