काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी दुई वर्षभित्र महाभूकम्पले क्षति भएका सबै पुरातात्विक एवं साँस्कृतिक सम्पदाको पूननिर्माणको काम सम्पन्न गर्ने बताएका छन् ।
उनले २०७२ को महाभूकम्पले क्षति भएका सबै पुरातात्विक एवं साँस्कृतिक सम्पदाको काम आगामी २ वर्षमा सम्पन्न हुने घोषणा गरेका हुन् ।
आज आयोजित कार्यक्रममा बोल्दै उनले भूकम्पले क्षति भएका सम्पदाको ६० प्रतिशत काम सकिएको र आगामी दुई वर्षमा बाँकी सबै काम सम्पन्न हुने बताएका हुन् ।
उनले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा पर्यटकीय महत्वका हिसावले पनि यहाँको पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्धर्नमा सरकार लागिरहेको बताए । उनले युनेस्कोले पठाउने हरेक मोनिटरिङमा नेपाल सफल हुने दावी गरे ।
‘ढुक्क हुनुस्, अब नेपालका विश्व सम्पदाको खतरा र कालो सुचिमा पर्दैनन्’ मन्त्री भट्टराईले भने । उनले लुम्बिनीमा व्यापार गर्न नपाइने भन्दै परोपकारी भावनाका साथ खुलेका गुम्बामा व्यापार भएको पाईए कारबाही गर्ने बताए ।
मन्त्री भट्टराईले उपत्यकाका सात वटै विश्व सम्पदा स्थलहरुलाई जोड्ने गरि चाडै साइकल लेनको निमार्ण गरिने तथा भक्तपुर, पाटन र वसन्तपुर दरबारलाई राति समेत भ्रमण गर्न सकिने गरि ‘भ्याली बाइ लाइट’ को काम भइरहेको बताए । लाइटिङ जडानको काम सकिनासाथ यी सम्पदामा रात्रीकालिन भ्रमणको व्यवस्था हुने उनले बताए ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पले ३१ जिल्लामा ९ सय २० वटा सम्पदा क्षति भएकोमा ४ सय वटा सम्पदा पुनर्निमाण सम्पन्न भएको जानकारी दिए ।