काठमाडौं। चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महीनामा होटेल तथा रेस्टुरेन्टमा १६ अर्ब ६४ करोड रुपैंया लगानी गर्ने प्रतिबद्धता आएको छ । चालु आवको पुस मसान्तसम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीकर्ताले होटेल, रेस्टुरेन्ट तथा क्यासिनो गरी ७३ वटा व्यवसायमा उक्त लगानी गर्नेगरी व्यावसायिक प्रतिष्ठान दर्ता गरेका छन् ।
व्यवसाय दर्ता गर्नेहरुमा ६० विदेशी लगानीकर्ता र १३ स्वदेशी लगानीकर्ता रहेका विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, अधिकांश लगानीकर्ताको छनोटमा पर्यटन क्षेत्रका चर्चित गन्तव्यहरु काठमाडौं र पोखरा नै पर्ने गरेका छन् ।
पछिल्लो ६ महीनाको अवधिमा दर्ता भएका पर्यटनसम्बद्ध व्यवसाय र प्रस्तावित लगानी उच्च भए पनि लगानीकर्ता अन्य क्षेत्रमा आकर्षित हुन नसक्नुको मुख्य कारण नीतिगत स्पष्टता नहुनु पर्यटन व्यवसायीहरुको भनाई छ ।
विभागको तथ्यांक अनुसार काठमाडौंमा ५३, कास्की (पोखरा)मा ८, ललितपुर ५, चितवन २ वटा व्यवसाय दर्ता भएका छन् । त्यस्तै झापा र ईलाममा १/१ वटा, रुपन्देहीमा १ , बाँके र बारामा भने १/१ वटा होटेल तथा रेस्टुरेन्ट दर्ता भएका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहँदा पनि अन्य पर्यटकीय गन्तव्यमा होटेल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार हुन नसकेको देखिन्छ ।
दर्ता भएकामध्ये झापा र बाँकेमा एक/एकओटा कम्पनीमार्फत २५/२५ करोड रुपैंयाको लगानीमा क्यासिनो व्यवसाय सञ्चालन गर्नेगरी विभागमा दर्ता भएको छ ।
पछिल्लो ६ महीनाको अवधिमा दर्ता भएका पर्यटनसम्बद्ध व्यवसाय र प्रस्तावित लगानी उच्च भए पनि लगानीकर्ता अन्य क्षेत्रमा आकर्षित हुन नसक्नुको मुख्य कारण नीतिगत स्पष्टता नहुनु पर्यटन व्यवसायीहरुको भनाई छ । होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह लगानीकर्ताले लगानीको सुरक्षा हेरी लगानी गर्ने तर्क गर्छन् । ‘काठमाडौं सबै दृष्टिले सहज स्थान हो,’ उनले भने, ‘नेपालमा अन्य पर्यटकीय गन्तव्यमा पनि यस्ता लगानी विस्तार गर्न जरुरी छ, तर यसका लागि सरकारले नीतिगत रुपमा स्पष्ट योजना ल्याउनुपर्छ’
मुलुकभर पर्यटन लगानीमैत्री वातावरण बनेको दाबी गरिँदै आए पनि होटेल तथा रेस्टुरेन्टमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको रोजाइ तथा आकर्षण काठमाडौंमा नै देखिएको छ । रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समयमा शहरमा ‘रेस्टुरेन्ट कल्चर’ विकास भएको हुँदा मुख्य शहरहरुमै लगानीकर्ता लगानी गर्न इच्छुक देखिएको बताउँछन् ।
‘काठमाडौं, पोखरा, चितवन, धरान, नेपालगञ्जमा सबैभन्दा बढी रेस्टुरेन्ट खुलेका छन्,’ उनले भने, ‘व्यस्त शहरी जीवनशैलीका कारण होटेल तथा रेस्टुरेन्टहरुमा जानेको संख्या पनि बढेको छ, यसले गर्दा लगानीकर्तालाई शहरलक्षित लगानी गर्न प्रेरित गरेको हो’
विदेशी पर्यटकलाई मात्रै लक्षित गरेर विगत केही वर्ष अघिसम्म पनि होटेल तथा रेस्टुरेन्टहरु सञ्चालनमा आउने गरे पनि पछिल्लो समय पोखरालगायत अन्य केही पर्यटकीय शहरमा नेपाली तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि होटेल तथा रेस्टुरेन्टहरु सञ्चालनमा आउन थालेका छन् । तर पनि धेरै ठाउँमा अझै पनि लगानी आकर्षित हुन नसकेको भने देखिन्छ ।
अन्य पर्यटकीय गन्तव्यहरुमा पनि यस्तो लगानी विस्तार हुन जरुरी रहेको राजभण्डारीले बताए । होटेल तथा रेस्टुरेन्टका लागि काठमाडौं, पोखरा, चितवन, भैरहवा, धरान र नेपालगञ्ज ‘हब’ मानिन्छन् । पर्यटन व्यवसायीहरुका अनुसार ती क्षेत्रमा वार्षिक रुपमा लगानी पनि बढिरहेको पनि छ ।
विभागको तथ्यांकअनुसार काठमाडौंबाहेक बाँके जिल्लामा स्वदेशी लगानीकर्ता इम्पेरियल इन्टरटेनमेन्ट प्रालिमार्फत २५ करोड रुपैंया क्यासिनोमा लगानी हुँदै छ । यस्तै पोखरा (कास्की) मा सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा प्रालिले होटेल तथा रेस्टुराँमा ५० करोड लगानी गर्दै छ ।
यसैगरी बालाजी होल्डिङ्स एन्ड होटेल प्रालिले काठमाडौंमा होटेल तथा रेस्टुरेन्टमा ८४ करोड ८० लाख लगानी गर्नेगरी व्यवसाय दर्ता गराएको छ । बारा जिल्लाको जितपुर–सिमरामा होटेल इच्छा प्रालिले होटेल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ५५ करोड ९० लाख लगानी गर्ने भन्दै उद्योग विभागमा व्यवसाय दर्ता गराएको छ ।