यतीकाे गोकर्ण फरेष्ट रिसोर्टको गेट नै बन्द गर्दिने ल्याकत राख्ने माइजुको भात होटल

काठमाडौं। महङ्गो गाडी चढेर ‘एलिट खेल’ भनेर चिनिने गल्फ खेल्न गोकर्ण फरेष्ट रिर्सोट जाने अनी खेलसकेर रिर्सोट बाहिर आएर ‘लोकल’ ठाउँमा आगोमा पकाएको दालभात र खसीको मासु खाने………..!

 

यस्तो दैनिकी छ कतिपय नेपाली गल्फरहरुको । गल्फर भन्ने वित्तिकै धनी हुनै पर्यो, यो खेल खेल्न लाग्ने उच्च लागतका कारण । सदस्यता शुल्क, खेल सामग्री इत्यादीको मुल्य अन्य खेलको तुलनामा यो खेलको उच्च हुन्छ ।

 

अनी गल्फ खेल्ने ठाउँ चाहिँ चर्चित गोकर्ण फरेस्ट रिर्सोट, जसले प्रधानमन्त्रीको हातको कलम आफु अनुकुल घुमाउने क्षमता राख्छ ।

 

खानपिन र आफ्नो बर्गीय हैसियत प्रति सचेत गल्फरहरुलाई सामान्य मासुभात खान आफ्नो दैलोसम्म आकर्षित गर्न सक्ने र प्रधानमन्त्रीको हातको कलम माथि नियन्त्रण गर्ने क्षमता राख्ने रिसोर्टलाई उसको ग्राहक नै खोसेर हायलकायल पार्ने भात होटल कस्तो होला त ?

 

 

शुरुवात

कुरा शुरु हुन्छ सन् १९९३ मा । गोकर्ण फरेस्ट रिर्सोट निर्माणाधिन थियो । निर्माण गर्दै थियो एलएम सुभिर ब्रदर्स कम्पनीले अनी निर्माणको ठेक्का लिएको थियो नेपालको सीइ कन्सट्रक्सन्सले ।

 

कृष्ण खत्री सीइ कन्सट्रक्सन्सको कर्मचारीको रुपमा गोकर्ण रिर्सोट बनाउन खटिएका थिए । कामदारहरु थुप्रो थिए । वरिपरी जङ्गल अनी बाहिर गाउँ । अहिले सानो बजारकै रुपमा विकास भइसकेको थली त्यत्तिबेला गाउँ नै थियो ।

 

आफु र कामदारहरुलाई भात खानै समस्या भएपछि कृष्णले श्रीमतीसँग मिलेर निर्माणाधीन रिर्सोटको ढोका बाहिर सानो भात होटल खोले, कामदारहरु लाई केन्द्रित गरेर । आफुलाई पनि भात खान सजिलो अनी धेरै कामदारहरु भएका कारण राम्रै व्यवसायको संभावना पनि देखे उनले । निर्माणको काम ५ वर्ष हाराहारी लाग्ने त निश्चित नै थियो ।

 

माइजुको भात होटल

अहिले यो भात होटल माइजुको भात होटलको नामले चर्चित छ । कामदारका लागि खोलिएको होटलले रिर्सोटको निर्माण सम्पन्न भइसकेपछि पनि निरन्तर चलिरह्यो, झन् राम्रो गतिमा ।

 

रिर्सोट निर्माण भएपछि मानिसहरु गल्फ खेल्न आउन थाले । ‘शुरुमा गल्फ खेल्न आउने मानिसहरु रिर्सोट भित्रै खान्थे । उनीहरुका ड्राइभरहरु चाँही हाम्रोमा भात खान आउँथे । पछि उनीहरुले नै हाम्रो होटलको बारेमा गल्फ खेल्नेहरुलाई भन्न थाले होलान् । त्यसपछि त सबै हाम्रो मै आउन थाले’, कृष्ण सुनाउँछन् ।

 

गल्फर र उनीहरुको चालक मात्र होइन, रिर्सोटमा काम गर्ने कर्मचारीहरु नै पनि कहिलेकाहीँ मुख फेर्न परे माइजुको भात होटलमै आउन थाले ।

 

त्यसपछि आफ्नो ग्राहक मात्र नभएर कर्मचारीहरु समेत बाहिर निस्केर भात खान जान थालेपछि रिर्सोटलाई तातो लाग्यो र उसले आफ्नो पूर्वी ढोका (माइजुको होटलमा निस्कने ढोका) बन्द गर्यो ।

 

तरपनि आउनेले आउन छाडेनन्, घुमेरै आउन थाले ।

 

अहिले कृष्ण र उनको परिवारले थलीमै (पुरानोभन्दा अलिकति माथि) ५ आना जग्गा किनेर, आफ्नै घर बनाएर त्यहीँ आफ्नो होटल सञ्चालन गरिरहेको छन् ।

 

होटलको सञ्चालनको नेतृत्व कृष्णको श्रीमती पार्वतीले गर्ने गरेकी छिन् । उनलाई उनीहरुको दुई छोरी र एक छोराले सहयोग गर्छन् । छोरा कुनै समय बैदेशिक रोजगारीको लागि विदेश गएका पनि थिए । तर, अहिले फर्केर आफ्नै आमा बाबुको व्यवसायमा सघाएर बसेका छन् ।

 

के पाइन्छ होटलमा ?

होटलको मेनु निकै छोटो छ । दाल, भात, तरकारी, खसीको मासुको झोल, कुखुराको मासु साँधेको अनी ग्रेभी खसीको मासु । यत्ति हो मेनु ।

 

‘यति बनाउँदा नै भ्याइनभ्याइ हुन्छ । अरु बनाउने फुर्सदै हुँदैन । आफुलाई जे पकाउन आउँछ त्यो मात्र हो हामीले पकाउने’,पार्वती भन्छिन्,‘अरु पकाउने मान्छे राख्यो भने मन लगाएर काम गर्दैनन् । ग्राहक भड्किहाल्छन् नी’

 

 

माइजुको भात होटलमा भात खानको पहिल्यै बुक गर्नुपर्छ अन्यथा गएर २-३ घण्टा कुर्नु वा फर्कनुको बिकल्प हुँदैन । ‘बुक नगरी आइयो, भात खानै पाइएन । अब बौद्ध तिर गएर खानु पर्ला’ एक ग्राहक यसो भन्दै निस्कदैं थिए ।

 

‘एकपल्ट हामीसँग मासु नखाने एकजना साथी आएका थिए । उनको लागि अण्डा पकाइदिनुसन भनेको उहाँहरुले अण्डा पकाउन पनि भ्याउनुभएन । आफ्नो ‘रेगुलर’ आइटम भन्दा डेग नचल्नुहुने रहेछ’, अर्का ग्राहकले भने ।

 

किन मानिसहरु साधारण भात खान यसरी झुत्ति खेलेका होलान् र ?

माथी उल्लेख गरिएको साधारण दाल भात र मासु नै यहाँको स्थायी र एकमात्र मेनु हो । तर, बिशेष कुरा के हो भने यहाँ धेरैकुरा दाउराको आगोमा पकाइन्छ ।

 

‘आगोमा पकाएको खाना अलि तिख्खर हुन्छ । अनी मानिसहरु जति नै आधुनिक भएपनि आफ्नो जराबाट कहाँ भाग्न सक्छन् र ?’ पार्वती प्रश्न गर्छिन् ।

 

 

नेपाल भनेको ग्रामीण देश हो । अर्थात, यहाँका प्राय सबै मानिसको पृष्ठभुमी ग्रामीण हो । यी मानिसहरुको अवचेतन मस्तिष्कमा आफु वा आफ्ना अग्रजले खाएको आगोमा पकाएको खानाको स्वादले जरा गाडेको हुँदो हो !

 

‘आगोमा पकाएर मात्र हुँदैन । ग्राहकको स्वास्थ्य र स्वादलाई ध्यानमा राखेर निकै प्रेमले बनाउँछौ हामी खानेकुरा’, पार्वती भन्छिन् ।

 

यहाँको खाना बिशेष हुनुमा अर्को पनि कारण छ । यहाँ बजारको प्याकेटका मसला प्रयोग गरिदैंनन् । जिरा, धनीयाँ इत्यादी सिलौटामा पिसेर मसला तयार पारिन्छ । यसो गर्दा मसलाको सुगन्ध र स्वाद उडेर जान पाउँदैन र खाना तिख्खर हुन्छ ।

 

 

हातमा कलम लिएर गद्दावाल कुर्चीमा गजधम्म बसेका प्रधानमन्त्री, आमाबाले केटाकेटीको हात समातेर लेखाए झैं उनको हात समाएर ३ हजार रोपनी सरकारी जग्गा आफ्नो पोल्टामा पार्ने निर्णय गराउँदै गरेको यती, उसको गोकर्ण रिर्सोट र यो रिसोर्टसँग आँखामा आँखा जुधाएर उभिएको निर्माण कम्पनीमा काम गर्ने सामान्य कामदारको भात होटल !

 

दृश्य कल्पना गर्नुस् त, कम्ता रोचक लाग्दैन ।

 

यस्तो रोचक कल्पना गर्दै स्वादिलो दातभात र मासु खान तपाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीका थली, जहाँ ठूलो खाली मैदान छ, जानुपर्छ र त्यहाँ माइजुको भात होटल कहाँ हो भनेर सोधे सबैले बताइदिहाल्छन् ।

सानिमा बैंकले १६.८४ प्रतिशतले खुद नाफा बढाउँदा सिद्धार्थ बैंकको ४ प्रतिशतले खुम्चियो Read Previous

सानिमा बैंकले १६.८४ प्रतिशतले खुद नाफा बढाउँदा सिद्धार्थ बैंकको ४ प्रतिशतले खुम्चियो

बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार Read Next

बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार