लगानी सम्मेलनमा ‘सोकेस’ गरीएका मध्ये १२ वटा परियोजनामा लगानीकर्ताको सूची तयार

काठमाडौं। गत वर्ष अर्थात २०७५ साल चैतमा भएको लगानी सम्मेलनमा ‘सोकेस’ गरीएका ५० परियोजनामध्ये १२ वटा परियोजनाको संक्षिप्त सूची तयार भएको छ । नेपाल लगानी बोर्डले विभिन्न १२ वटा परियोजनामा कुल १३ खर्ब ४३ अर्ब रुपैंया लागत सहितको उक्त सूचि तयार पारेको हो ।

 

गत चैतमा भएको लगानी सम्मेलनका क्रममा लगानी बोर्डले ‘सोकेस’मा राखेका ५० परियोजनाका लागि लगानी प्रस्ताव आह्वान गरेको थियो । तीमध्ये निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, तल्लो अरुण जलविद्युत परियोजना, तमोर जलविद्युत परियोजना, पश्चिम सेती जलविद्युत परियोजनाजस्ता मेगा परियोजनामा लगानीकर्ताको सूची तयार गरेको हो ।

 

परियोजनामध्ये सबैभन्दा बढी निजगढ अन्तरराष्ट्रिय विमानस्थल बनाउन स्विट्जरल्यान्डको जुरिच इन्टरनेसनल एयरपोर्टले ३ खर्ब ९१ अर्बको लागत प्रस्ताव गरेको बोर्डले जानकारी गराएको छ । त्यस्तै, ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन् ।

 

 

१ हजार १ सय ११ मेगावाटको सुनकोसी–२ र ५ सय ३६ मेगावाटको सुनकोसी–३ जलाशययुक्त आयोजनाको लगानीकर्ता छनोट भने विचाराधीन क्रममा रहेको छ । त्यस्तै, लगानीकर्ताको सूचीमा काठमाडौं बाहिरी चक्रपथका लागि एक मात्र चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्नस लिमिटेड रहेको छ ।

 

त्यस्तै, बोर्डका अनुसार ६४ अर्ब ६१ करोड रुपैयाँ लागत अनुमान गरिएको नेपाल–चीनमैत्री औद्योगिक पार्क दमक परियोजना निर्माणको समझदारी समेत भएको छ । यसबाहेक, १३ अर्ब रुपैयाँ कुल लागत अनुमान गरिएको विराटनगर, वीरगञ्ज र भैरहवामा निर्माण हुने मल्टिमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययन गर्न २ वटा कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

 

बोर्डका अनुसार, प्रस्ताव आह्वान नगरिएका अन्य थप १५ परियोजना निर्माणका लागि समेत प्रस्ताव आएको छ ।

 

१० अर्ब ५४ करोड लागत अनुमान गरिएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बल परियोजनाका लागि कोरियाली मोट्रेक्स कम्पनीसँग सम्झौतामा प्रारम्भिक हस्ताक्षर समेत भएको बोर्डको भनाई छ ।

 

लगानी सम्मेलनमा बोर्डले सरकारमातहत रहेका ५० वटा पूर्वाधार विकास आयोजनालाई लगानी ‘सोकेस’मा राखेको थियो । इच्छुक लगानीकर्ताले लगानी गर्न चाहेको आयोजनामा आशयपत्र (प्रस्ताव) पेस गर्न सक्ने सूचना जारी गरेको थियो । उक्त ५० वटा परियोजना मध्ये ३० परियोजनामा ७१ प्रस्ताव आएको बोर्डले जानकारी गरायो । आशयपत्रका प्रस्तावको मल्यांकन गर्न बोर्डले सहसचिवको संयोजकत्वमा बोर्डका प्राविधिक, कानुन हेर्ने कर्मचारी र परियोजनासँग सम्बन्धित मन्त्रालयका प्राविधिक कर्मचारीसहितको मूल्यांकन समिति गठन गरेको थियो ।

 

त्यस्तै, प्रस्तावमध्ये आर्थिक प्रस्तावमा परियोजनाको अनुमानित लागतको एकतिहाइ ‘नेटवर्थ’ हुनुपर्ने मापदण्ड निर्धारण भएको थियो । साथै, परियोजना हेरेर प्राविधिक प्रस्तावमा ५ वर्ष, १० वर्ष काम गरेको भन्ने अनुभवको मापदण्ड तोकिएको बोर्डले जानकारी गराएको हो ।

 

बोर्डका अनुसार, प्रस्ताव आह्वान नगरिएका अन्य थप १५ परियोजना निर्माणका लागि समेत प्रस्ताव आएको छ । तीमध्ये १० वटा परियोजना कार्यान्वयन चरणमा लानका लागि अध्ययन भइसकेको अधिकारी बताउँछन् । सम्मेलनका क्रममा घोषणा भएका १६ वटा समझदारी कार्यान्वयनमा गइसकेको उनले स्पष्ट पारेका छन् ।

 

अधिकारीका अनुसार बोर्डले हालसम्म करिब ५ खर्ब ६५ अर्ब रुपैयाँ कुल लागतका ९ परियोजना कार्यान्वयनमा सहजीकरण गरी अघि बढाइसकेको छ । यीमध्ये ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको बाँध, विद्युतगृह, सुरुङजस्ता मुख्य संरचना निर्माणको काम करिब ३३ प्रतिशत पूरा भइसकेको छ । त्यस्तै, २०१८ बाट व्यावसायिक उत्पादन थालेको होङ्सी सिमेन्टले दोस्रो चरणको उत्पादन गर्ने तयारी गरेको बोर्डको भनाई छ ।

 

यसै वर्ष शिलान्यास गरिएको ह्वासिन सिमेन्ट उद्योगले सन् २०२० को जुलाई भित्रमा उत्पादन थाल्ने बोर्डको ठम्याई छ । लगानी सम्मेलनअघि चैत ०७५ मा निर्माण भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनले कार्यक्षेत्र विस्तार गरेअनुसार बोर्डले काम गरिरहेको अधिकारीले बताए । उक्त ऐनको नयाँ व्यवस्थाअनुसार लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रमार्फत सहज सेवा दिइएको उनको भनाई छ ।

 

 

 

उखु किसानको बक्यौता भुक्तानी नगरे उद्योगको कारोबार रोक्का गरिने Read Previous

उखु किसानको बक्यौता भुक्तानी नगरे उद्योगको कारोबार रोक्का गरिने

रेनो ट्राइबर नेपाली बजारमा सार्वजनिक, मूल्य २८ लाखबाट शुरू Read Next

रेनो ट्राइबर नेपाली बजारमा सार्वजनिक, मूल्य २८ लाखबाट शुरू