नेपालीलाई सीपमुलक तालिम दिन २ चिनीयाँ कम्पनी दर्ता, रोजगारीकाे टुङ्गाे छैन

काठमाडौं । चिनीयाँ लगानीमा बेरोजगारलाई सीप सिकाउन र तालिम दिन दुईवटा नयाँ कम्पनी सञ्चालनको लागि प्रस्ताव आएको छ । चिनीयाँ लगानीमा ‘विजनेस इन्कुवेसन सर्भिस’ र ‘लिडरसिप म्यानेजमेन्ट एण्ड आन्ट्रप्रनर्शिप स्किल ट्रेनिङ’ नाम गरेका कम्पनीले सञ्चालनका लागि लगानी प्रस्ताव गरेका हुन् ।

 

दुई संस्था सञ्चालनका लागि कुल ११ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । दुबै संस्थाले गरेर वर्षेनी कुल करिब १ हजार जनालाई सिप सिकाउने लक्ष्य राखेका छन् ।

 

यी कम्पनीहरु सञ्चालनका लागि उद्योग विभागले २०७६ मंसिर १० गते स्वीकृती दिएको थियो । लिडरसिप म्यानेजमेन्ट एण्ड आन्ट्रप्रनर्शिप स्किल ट्रेनिङ शतप्रतिशत चिनीयाँ लगानीमा सञ्चालन हुने कम्पनी हो । उक्त कम्पनी सञ्चालनका लागि चीनबाट ५ करोड लगानी प्रस्ताव आएको हो । सो कम्पनीले वर्षेनी करिब ७ सय ५० जनालाई रोजगारमुलक तालिम दिने लक्ष्य राखेको छ । उक्त कम्पनी ललितपुरमा सञ्चालन गरिने योजना प्रस्तावमा आएको छ ।

 

यी कम्पनीहरुले तालिम गरेबापत प्रमाणपत्र भने दिने छैनन् ।

यस्तै विजनेस ‘इन्कुवेसन सर्भिस’ नामक कम्पनी ८३.३३ प्रतिशत चिनीयाँ लगानी र १६.६७ प्रतिशत नेपाली लगानीमा सञ्चालनमा ल्याउने गरी प्रस्ताव स्वीकृत भएको छ । यो कम्पनी ६ करोड लगानीमा सञ्चालनमा ल्याइन लागिएको हो । यो कम्पनीले वर्षेनी कुल २ सय ५० जनालाई रोजगारमुलक तालिम दिने लक्ष्य राखेको छ । यो कम्पनी काठमाडौंमा सञ्चालनमा ल्याइने प्रस्तावमा उल्लेख छ ।

 

उद्योग विभागका वैदेशिक लगानी शाखाका ‘मेकानिकल विजनेस’ प्राविधिक सुरेश सुब्बाले यी कम्पनीले व्यापार तथा व्यवासयका लागि आवश्यक पर्ने उचित तालिम दिनुका साथै व्यवसायीक नेतृत्व विकासका लागि तालिम दिने बताए ।

 

‘ती कम्पनीहरुले कस्तो व्यापार गर्दा नेपालमा राम्रो हुन्छ भनेर बौद्धिक प्रशिक्षण दिने प्रस्तावमा भनिएको छ,’ सुब्बाले चाणक्य पोष्टसँग भने ।स्वीकृत हुने कम्पनीहरुले प्यान लिनु पर्ने, उद्योग दर्ता गर्नु पर्ने लगायतका विभिन्न प्रकृया भएकाले त्यो गर्न उद्योग विभागमै आउनुपर्नेमा हालसम्म कुनै जानकारी नआएको उनले बताए ।

 

‘उनीहरुले उताबाट आउँछु है ? भन्दा आउ भन्ने हाम्रो काम हो । हामीले स्वीकृति पनि दियौं । तर, त्यसपछिको प्रकृया पूरा गर्न भने उनीहरु आएका छैनन्,’ सुब्बाले भने ।

 

यस्तै उनले उनीहरुले स–शुल्क तालिम दिने भएकाले त्यही नै उनीहरुको आम्दानीको स्रोत भएको बताए । उनले यी चिनीयाँ कम्पनीले तालिम दिएर तालिम प्राप्त जनशक्ति उतै लान्छन् की यतै रोजगार दिन्छन् भन्ने थाहा नभएको बताए ।

 

‘उनीहरुले आफै रोजगार दिन्छन् की उतै लाने हुन् त्यो भने थाहा भएन । तर, उनीहरुले तालिमको शुल्क भने लिने उल्लेख गरेका छन्,’ सुब्बाले भने ।

 

यी कम्पनीहरुले तालिम गरेबापत प्रमाणपत्र भने दिने छैनन् ।

 

यी कम्पनीहरुले अहिलेसम्म कुनै काम भने शुरु गरेको छैनन् । ‘अहिले चीनमा नयाँ वर्ष भएकाले काम सुरु नभएको हुन सक्छ’ सुब्बाले बताए ।

नेपालीपन झल्काउने प्रयास गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल : एक अनुभव Read Previous

नेपालीपन झल्काउने प्रयास गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल : एक अनुभव

छैठौं महिला उद्यमी सम्मेलन आयोजना हुँदै, लक्ष्मी बैंक प्रायोजक Read Next

छैठौं महिला उद्यमी सम्मेलन आयोजना हुँदै, लक्ष्मी बैंक प्रायोजक