काठमाडौं । धरहरा पुननिर्माणको काम तिब्र गतिमा अघि बढि रहेको छ । माघ १ गतेसम्ममा धरहराको ५औँ तल्ला ढलान भएको पुननिर्माणका आयोजना प्रमुख ध्रुव पौडेलले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय धरहरा निर्माणको कामले गति लिएको हो । हालसम्म धरहरा निर्माणका क्रममा सवा अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताए ।
धरहरा पुननिर्माणका लागि तीन अर्ब ४२ करोड रुपैयाँ लाग्ने बताइएकोमा हालसम्म सवा अर्ब रुपैयाँ खर्च भएको हो । धरहरा भित्र पट्टिबाट १२ तल्ला हुने छ भने बाहिर पट्टि ११ तल्ला हुने छ ।
गत २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरी औपचारिक रुपमै धरहरा पुननिर्माणको काम शुरु गरिएको थियो । त्यसको १ वर्षको अवधिमा धरहराको ५ तल्ला ढलान भएको हो ।
२ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित शुरु गरिएको पुननिर्माण कार्यले हाल आएर गति लिएको पौडेल बताउँछन् । ‘जगको काम गाह्रो हो । जग भन्ने कुरा जति समय लागे पनी राम्रोसँग बनाउनु पर्छ । जग बनिसकेपछि तल्ला थप्ने कामलाई धेरै समय लाग्दैन,’ पौडेलले चाणक्यपोष्टसँग भने ।
चिनियाँ निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले २०७७ असोज २१ गतेसम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी धरहरा सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले भत्काएको धरहरा भुकम्प गएको तीन वर्ष ८ महिना पुगेपछि औपचारिक रुपमा शिलन्यास भएको थियो ।
प्रधानमन्त्री ओलीले २०७२ फागुन २ गते ‘मेरो धरहरा म आफै बनाउँछु’ भन्ने अभियानको थालनी गरेका थिए । सो अभियानको कोषमा निर्माण शिलन्यासको दिनसम्म २४ करोड रुपैयाँ जम्मा भएको थियो ।
गोश्वारा हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो भूमिगत तह खनेर तीनतल्ले पार्किङस्थल निर्माण गर्ने सम्झौता भएको थियो । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरेको हो ।
भीमसेन थापाले बनाएको ११ तल्ले धरहरा १९९० सालको भुकम्पमा भत्किएर ९ तलामा सिमित भएको थियो । विसं १८८२ मा उनले महारानी त्रिपुरा सुन्दरी देवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । एघार तले धरहरा विसं १९९० को भूकम्पले भत्काएको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले नौ तले धरहरा पुनःनिर्माण गराएका थिए । त्यसपछि विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको धरहराको पुननिर्माण भने अहिलेसम्म सकिएको छैन ।