रानी पोखरी पुननिर्माणको म्याद सकिन ३ महिना बाँकी, ४० प्रतिशत मात्र काम सकियो

काठमाडौं । रानी पोखरी पुननिर्माणको काम जोडतोडले भइरहेको छ । दैनिक करिब १० जना कामदारहरु बिहानैदेखि इँटा हाल्ने काममा लागि परेका छन् । पुननिर्माण प्राधिकरणले यही माघसम्म इँटा विछ्याउने काम सक्ने लक्ष्य राखेको छ । हालसम्म पोखरीको आदि भागमा समेत इँटा बिछ्याउने काम पुरा भएको छैन ।

 

तर, रानी पोखरी पुन निर्माणका आयोजना प्रमुख धुर्व पौडेल भने माघभित्रै इँटा बिछ्याउने काम सक्ने गरी काम भइरहेको बताउँछन् ।रानीपोखरी पुननिर्माणको काम दुई ढंगले भइरहेको छ । पोखरीको भित्री सतह र गह्रा बनाउने काम उपभोक्ता समितिलाई दिइएको छ । पोखरीभित्रको बालगोपाल मन्दिर, पुल र बाहिरी घेराको निर्माण ठेक्कामा निर्माण व्यवसायीलाई दिइएको छ ।

 

पोखरी निर्माणका लागि मात्र उपभोक्ता समितिलाई ९ करोड ५० लाख रुपैयाँ दिइएको छ भने निर्माण व्यवसायीलाई १५ करोड रुपियाँ उपलब्ध गराइएको छ ।

 

केही दिनयता रानीपोखरीमा कालो माटो हाल्ने र इँटा छाप्ने काम भइरहेको छ । पोखरीको सबैभन्दा भित्री घेराको ५ फिट ४ इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले बनाइसकेका छन् । अहिले बालगोपाल मन्दिरको जग उठाउने काम सकिएको छ ।

 

त्यसपछि अहिले डोजरले माटो हाल्ने काम गरिरहेको छ । माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेका छन् । पोखरीको सतहमा १५ देखि १८ इन्च बाक्लो कालो माटो विछ्याइएको छ । कालोमाटो माथि इँटाको सतह बनाइएको छ ।  २ लाख २० हजार वर्ग फिटको रानीपोखरीमा कालोमाटो र इँटाको प्रयोग गरी पानी अड्याइने छ । यो जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । कालोमाटो खोकना, भक्तपुरलगायत ठाउँबाट ल्याएको हो । कालोमाटो माथी झण्डै ६ लाख इँटा चाहिने अनुमान गरिएको छ ।

 

सुर्की, चुना, ढुङ्गा, काठ, विभिन्न प्रकारका इँटाको आदिको प्रयोग गरी मन्दिरको निर्माण हुँदैछ । बालगोपालको मन्दिर मल्लकालीन ग्रन्थकुट शैलीमा पुननिर्माण हुँदैछ । पोखरी किनारदेखि बालगोपाल मन्दिरसम्म जाने पुलको २० वटा आर्कमध्ये ६ वटा आर्क तयार भइसकेको जनाइएको छ ।

 

रानी पोखरी पुनः निर्माणका क्रममा यसलाई आकर्षिक बनाउन दाचीअप्पा (सामान्य भन्दा भिन्न डिजाइनको इँटा) को प्रयोग गरिदैंछ । यो इँटा सामान्य भट्टाहरुले कमै बनाउने गर्छन् । यो इँटा बनाउन गाह्रो हुने भएकाले इँटा उत्पादकले उक्त इँटा बनाउन नमाने समस्या उत्पन्न हुन सक्ने पौडेलले बताए ।

 

उनले यो इँटा बिशेष अर्डरमा निर्माण गर्न लगाइएको जानकारी दिए । रानी पोखरीमा बन्ने मन्दिर, मन्दिरसम्म जाने पुललगायत पोखरी माथि बन्ने अन्य ठाउँमा उक्त इँटाको प्रयोग गरिने उनले बताए ।

 

‘इँटा उत्पादकले समयमै चाहे जति इँटा उत्पादन नगरिदिँदा निर्माण काममा समस्या देखिएको हो,’ पौडेलले भने ।

 

कहिले बन्ला रानी पोखरी ?

 

२०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी पुननिर्माणका लागि शिलन्यास गरेकी थिइन । २०७३ को वैशाखमा कात्तिकसम्म निर्माण सक्ने गरी ६ करोड २९ लाखमा पोखरीको पुननिर्माणको ठेक्कापट्टा पनि भयो ।

 

विभिन्न कारणले पुरा हुन नसकेको रानी पोखरीको पुननिर्माण त्यस पछि २०७५ को चैतसम्ममा सक्ने गरी म्याद थप भयो ।  त्यसपछि हाल आएर २०७७ को बैशाखसम्ममा रानी पोखरी पुननिर्माण सम्पन्न गर्ने भनिएको छ । यो समयमै सम्पन्न हुन्छ –हुन्न भन्ने कुरा अझै हेर्न बाँकी नै छ ।

 

हालसम्म रानी पोखरी पुननिर्माणको काम ३५ देखि ४० प्रतिशतको हाराहारीमा मात्र सम्पन्न भएको पुननिर्माण प्राधिकरणले जनाएको छ । अब ६० प्रतिशत काम ३ महिनाभित्र सम्पन्न हुने संभावना भने न्युन नै देखिन्छ ।

जाँगर र सीप चाहिन्छः पैसा कमाउन कही जानुपर्दैन Read Previous

जाँगर र सीप चाहिन्छः पैसा कमाउन कही जानुपर्दैन

सनराइज बैंकको जलविद्युतमा १३ अर्ब लगानी Read Next

सनराइज बैंकको जलविद्युतमा १३ अर्ब लगानी