जाँगर र सीप चाहिन्छः पैसा कमाउन कही जानुपर्दैन

काठमाडाैं । काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका-८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए । पसिना बगाए ।

 

उनले सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाले । उनी दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किए ।

 

उनले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बुनाए । व्यवसाय शुरु गरे । उनले भने, ‘गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा पाँचलाख आम्दानी लिएँ ।’ घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उनी वैदेशिक रोजगारमा होमिएका थिए । ‘विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छाैं, उनले अनुभव सुनाउँदै भने ।

 

उनको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गरेका उनले भने, ‘सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिएको छु ।’ पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ ।

 

नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी तीन लाख ऋण सहयोगसमेत गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउछन् । ‘विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ’, उनले भने ।

 

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् । विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् ।

 

रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रापालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिए । कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उनले बताए । रासस

विद्यार्थीले बनाए स्मार्ट सिटी, हाइड्रोलिक ब्रीज र लिफ्टमा आकर्षण Read Previous

विद्यार्थीले बनाए स्मार्ट सिटी, हाइड्रोलिक ब्रीज र लिफ्टमा आकर्षण

रानी पोखरी पुननिर्माणको म्याद सकिन ३ महिना बाँकी, ४० प्रतिशत मात्र काम सकियो Read Next

रानी पोखरी पुननिर्माणको म्याद सकिन ३ महिना बाँकी, ४० प्रतिशत मात्र काम सकियो