नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नवनियुत्त कार्यसमितिले अर्थमन्त्री युवराज खतिवडालाई भेटेर अटो क्षेत्रको मन्दी हटाउन नीतिगत सुधारको लागि आग्रह गरेको छ । नाडाको अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पछिल्लो समय अटो क्षेत्रमा आएको मन्दीले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पारेको भन्दै यो क्षेत्रको उन्नयनको लागि सहज बाटो खोजिदिन अर्थमन्त्री समक्ष आग्रह गरेको हो ।
जवाफमा अर्थमन्त्रीले यो क्षेत्रमा आएको गिरावटलाई आफुले चासोका साथ हेरिरहको भन्दै यो क्षेत्रको मन्दी चाँडै हट्ने बिश्वास समेत व्यक्त गरेका छन् ।
‘अर्थमन्त्री यो अवस्थाको बारेमा जानकार हुनुहुन्छ । उहाँले बैंकमा तरलताको अवस्थामा सुधार हुँदै गएकाले अब अटो क्षेत्रमा पनि सुधार आउने बताउनु भयो,’ प्रतिनिधिमण्डलका एक सहभागीले बताए । उनले बिशेषत ‘फेयर ट्रेड’, ‘स्पेयर पाटर्समा अण्डर इँभोइसिङ’ जस्ता विषय समाधान गर्न र सहज व्यापारको वातावरण निर्माण गर्न अर्थमन्त्रीलाई आग्रह गरेको बताए ।
अध्यक्ष कृष्णप्रसाद दुलालले अर्थमन्त्री आफ्नो मागमा सकारात्मक रहेको बाताए । ‘पछिल्लो समय हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिंदा ठूला सवारीसाधनमा मात्रै कर्जा दिन पाउने व्यवस्था हटाएर सबैमा दिनसक्ने बनाउन हामीले गरेको आग्रहमा उहाँ सकारात्मक हुनुहुन्छ,’ दुलालले बताए ।
नाडाले बिजुली गाडीमा दिने कर्जा , अटो उद्योग स्थापना गर्न दिइने सेवा सुविधा, सडक सञ्जाल विस्तार, स्पेयर पाटर्समा हुने चोरी पैठारीलगायत विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ ।