तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै

विद्युत् प्राधिकरण कार्यालय तनहुँले जिल्लालाई पूर्ण विद्युतीकरण गर्न लागेको छ । विद्युत् लाइन छुट भएका स्थानमा आपूर्ति गर्नका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ ।

 

आर्थिक वर्ष २०७६/७७ असार मसान्तभित्र सबै क्षेत्रमा विद्युत् पुर्‍याउने लक्ष्य रहेको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए। उनका अनुसार जिल्लाको दुई नगरपालिका र चार गाउँपालिका रहेका काठको पोल हटाएर स्टिल पोल राख्ने र नाङ्गो तार हटाएर कालो तारको व्यवस्था गरिनेछ । पोल राखिँदै क्षमता वृद्धि गर्ने, नयाँ ट्रान्सफर थप गरिनेछ ।

 

जिल्लाको भानु नगरपालिका-६, ७, ८ र ९ का बासिन्दालाई सामुदायिक ग्रामीण विद्युतीकरण सेवा सिसाघाट र वडा नं १०, १२, १३ मा लमजुङस्थित सूर्यपाल सामुदायिक विद्युत् उपभोक्ता समितिले विद्युत् वितरणको व्यवस्था गरेको छ भने बाँकी अन्य वडामा विद्युत् प्राधिकरणले नै काम गर्दै आएको उनले बताए ।

 

सदरमुकाम दमौलीमा छिन-छिनमा विद्युत् जाने समस्यालाई मध्यनजर गर्दै दमौली बजार क्षेत्रमा सिटिफिडर कायम गर्न लागिएको छ । दमौली हुँदै जिल्लाको केशवटार र रिसिङसम्म एउटै लाइन हुँदा समस्या रहेकाले एक महिनाभित्रमा पूर्णरूपमा लाइन जाने समस्या हट्ने इञ्जिनीयर चौधरीले बताए ।

 

बिजुलीको तार रुखमा छुँदा, हावापानी र चट्याङ पर्दा त्यसको असर सिधैँ सवस्टेशनमा पर्ने हुँदा विद्युत् जाने समस्या रहेकाले अब आउँदा दिनमा त्यस्तो नहुने गरी काम गर्न लागिएको उनले जानकारी दिए । रासस

पृथ्वी जयन्ती र इतिहासको चेत Read Previous

पृथ्वी जयन्ती र इतिहासको चेत

सनराइज बैंकले संचालनमा ल्यायो रिकरिङ खाता Read Next

सनराइज बैंकले संचालनमा ल्यायो रिकरिङ खाता