काठमाडौं । इतिहासमा रुचि हुनेहरूले जान्नुपर्ने कुरा यो पनि हो कि ‘घटना’हरू शून्यमा घट्दैनन् । इतिहासमा घटेको कुनै घटनाको आर्थिक, राजनीतिक वा सांस्कृतिक पृष्ठभूमि हुन्छन्। पृष्ठभूमिको यथेष्ट विश्लेषणबिना इतिहासको चर्चा अर्थहीन बकबकमात्र हुन्छ (जसरी हरेक वर्ष पुस २७ गतेको वरिपरी हुनेगर्छ ।
भीमसेन थापाले कुन वर्ष, कति मानिस लगाएर कति अग्लो धरहरा बनाए ? भन्ने विवरण इतिहास हैन । इतिहासको एउटा घटना हो । त्यो निश्चित समयमा कुन अभिप्रायले धरहरा बनाइयो ? धरहरा निर्माणका आर्थिक र सामाजिक आधार के-के थिए ? धरहराले भीमसेन थापालाई के उपलब्धि दिलायो -आदि विषयहरूको विश्लेषण नै सही अर्थमा इतिहास हो ।
प्रसिद्ध बेलायती इतिहासविद् आर जी कलिङवले भनेका छन् -हामीले थाहा नपाएको विवरण प्रकाशमा ल्याउने मात्र इतिहासको उद्देश्य हैन, इतिहासले विगतका घटनाका बारेमा हामीले बुझेकोभन्दा पृथक विश्लेषण प्रस्तुत गर्न सक्नुपर्छ ।
पृथ्वीनारायण शाह वीर, चलाख र दूरदर्शी शासक थिए होला, तर तीन शताब्दीपछि मानिसहरूले गौरव गरुन् भनेर अवश्य पनि पृथ्वीनारायण शाहले नेपाल बनाएका होइनन् ।
अङ्ग्रेजी भाषामा ‘फिलोसफी अफ हिस्ट्री’ भनिने यो प्रकारको इतिहास लेखन वा इतिहासको बुझाइ हामीमा त्यति व्यापक छैन, जति हुनुपर्ने हो । महेशचन्द्र रेग्मी, ऋषिकेश शाह, बाबुराम आचार्य र लडविग स्टिलर, प्रत्यौष वन्त जस्ता केही इतिहासकारहरूको लेखनमा पाइने इतिहासको यो चेतको प्रभाव विश्वविद्यालयका चारपर्खालबाहिर आउनसकेको छैन ।
हामी अझ पनि तिथिमिति र अभिलेखमा अल्झिएको कोरा विवरणलाई मात्र इतिहास मान्छौँ घटनाहरूका पृथक र संभावित विश्लेषणहरूमा ध्यान दिन्नौँ । बरु सकिन्छ भने इतिहासका पात्रहरूलाई जस वा अपजस दिएर मनको कुण्ठा शान्त पार्छौँ ।
इतिहासप्रतिको चेत सबैभन्दा उराठलाग्दो रूपमा प्रस्तुत हुने ‘पृथ्वी जयन्ती’को वरिपरी पनि हो । यो दिनलाई विशेष राष्ट्रिय पर्वका रूपमा मनाउने वा यही मौकामा पृथ्वीनारायाणलाई गाली गर्ने प्रवृत्तिले नेपालमा हुनेगरेको इतिहासको अपमानलाई प्रदर्शित गर्छ । पृथ्वीनारायणलाई जस र अपजस भिराउने हाम्रो भद्दा र पूरानो चलनको निरन्तरताले इतिहासलाई बुझ्ने हैन आफ्नो साँघुरो उद्देश्यका लागि प्रयोग गर्ने हाम्रो गलत परम्परालाई उजागर पनि गरिरहेको छ ।
के कुरामा प्रस्ट हुन जरुरी छ भने पृथ्वीनारायणले अहिलेका नेपालीहरूका अपेक्षा र चासोलाई मनन गरेर झण्डै २५० वर्षअघि नेपालको एकीकरण गरिदिएका हैनन् । उनको ‘राज्यविस्तार’को अभियान यस क्षेत्रको विशिष्ट भू–राजनीतिक परिस्थिति, त्यसबेलाका राज्यहरूको बाह्य विश्वसँगको आर्थिक र राजनीतिक सम्बन्धमा आएको परिवर्तनस र अन्य विभिन्न स-साना संयोगहरूको उपज हो, जसका बहुआयामिक पक्षहरूका प्रशस्त व्याख्या र विश्लेषण हुनसक्छन् ।
पृथ्वीनारायण शाहका पालामा आजको जस्तो राज्यसँग जोडिएको नागरिक पहिचानको विकास भइसकेको थिएन । राज्य र नागरिकबीच बलियो पारस्परिक सम्बन्ध थिएन । राज्यप्रति राजा उत्तरदायी थिएनन् । राज्य राजा वा शासकको ’कमाइ’ थियो जसको गरिमा उनीहरू र उनीहरूको वंशसँग सीमित थियो ।
राजामहाराजाका शालिकमा अबिर, माला पहिराएर इतिहासको स्मरण गर्ने वा आफ्नो कुण्ठा शान्त पार्न मरेर गएकालाई गाली गर्ने हाम्रो विशिष्ट परम्परालाई पछ्याउँदै आज पनि नेपालमा पृथ्वीजयन्ती मनाइने छ । तर, इतिहास स्मरण गर्ने वा त्यसका पात्रलाई गाली गरेर मन शान्त पार्ने माध्यम हैन ।
पृथ्वीनारायण शाह वीर, चलाख र दूरदर्शी शासक थिए होला, तर तीन शताब्दीपछि मानिसहरूले गौरव गरुन् भनेर अवश्य पनि पृथ्वीनारायण शाहले नेपाल बनाएका होइनन् ।
पृथ्वीनारायणले नेतृत्व गरेको नेपाल राष्ट्रको विस्तार धेरैले भन्ने गरेजस्तो न त कुनै व्यक्तिविशेषको वीरता र अभूतपूर्व दूरदर्शीताको परिणाम हो न त षड्यन्त्रको ग्राण्ड डिजाइन ! निश्चित कालखण्डको इतिहास अन्तर्सम्बन्धित सन्दर्भहरूको परिणाम हो जसले व्यक्तिविशेषका क्षमता र संभावनाहरूलाई ‘स्पेस’ दिएको हुन्छ । इतिहासको हाम्रो विश्लेषण यिनै ‘सन्दर्भ’मा केन्द्रित हुनुपर्ने हो । तर, हामीलाई पृथ्वीनारायण भन्ने ‘व्यक्ति’प्रति यति धेरै चासो छ कि हामी त्यसबेलाको सन्दर्भमा पुग्ने आवश्यकता नै देख्दैनौं ।
इतिहास हाम्रा लागि ‘ठालूहरूको दिनचर्या’मात्र भएको छ । इतिहासप्रतिको हाम्रो चासो राजा-महाराजाहरूका ‘वीरता’ र ‘बहुलठ्ठी’को कोरा विवरणमा रुमल्लिएको छ । त्यसैले, हामी अधिकांश समय मिथकलाई इतिहास र इतिहासलाई मिथक बनाउँछौं । पुस २७ गतेका दिन पृथ्वीनारायण शाहका पक्ष र विपक्षमा हुने अधिकांश बहसले यो तीतो यथार्थ उजागर गरेका छन् ।
इतिहास एक अर्थमा वर्तमानको पनि उपज हो । हाम्रा अहिलेका चासो र आग्रहहरूले पनि इतिहासको व्याख्यालाई प्रभावित गरिरहेका हुन्छन् । इतिहास लेख्ने, बुझ्ने र व्याख्या गर्नेका आ-आफ्ना उद्देश्य र अभिरुचि हुनसक्छन् । यी परिवर्तनशील अभिरुचिहरूको ‘चियोचर्चो’बिना इतिहासको अध्ययन पूरा हुँदैन । तर, साँघुरो स्वार्थ पूरा गर्ने हेतुले इतिहासलाई अनावश्यक गिजल्ने काम पनि शोभनीय हैन ।
यहुदीहरूप्रतिको प्रतिशोध शान्त पार्न सन् २००६ को डिसेम्बरमा तत्कालिन इरानी राष्ट्रपती अहमदिनेजादले ‘दोश्रो विश्वयुद्धका दौरान यहुदीहरूमाथि भएको अत्याचारको विश्वसनीयतामाथि छलफल गर्ने” नाममा एक ‘अन्तर्रा्ष्ट्रिय सेमिनार’को आयोजना गरेका थिए । पृथ्वीनारायण शाहलाई अपराधी वा राष्ट्रनिर्माता पुष्टि गर्न वर्तमानका रिसरागको हतियार प्रयोग गर्नेहरूले यही शैली पछ्याइरहेका होलान्। इतिहासलाई गहना वा हतियार बनाएर आफ्नो स्वार्थमा प्रयोग गर्ने काम सभ्य समाजका लागि शोभनीय हुन्न ।
राजामहाराजाका शालिकमा अबिर, माला पहिराएर इतिहासको स्मरण गर्ने वा आफ्नो कुण्ठा शान्त पार्न मरेर गएकालाई गाली गर्ने हाम्रो विशिष्ट परम्परालाई पछ्याउँदै आज पनि नेपालमा पृथ्वीजयन्ती मनाइने छ । तर, इतिहास स्मरण गर्ने वा त्यसका पात्रलाई गाली गरेर मन शान्त पार्ने माध्यम हैन ।
इतिहासको पूर्वाग्रहरहित विश्लेषण सभ्य समाजको परिचायक हो । भनिन्छ राम्रो काम सुरु गर्न कहिलै ढिलो हुँदैन ।