काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोट–धादिङ जिल्ला स्थित बन्चरेडाँडामा फ्यालिने भएको छ । माघ अन्तिमसम्म ‘बन्चरे डाँडा सेनिटरी ल्याण्ड फिल’ निर्माण सम्पन्न गरी फागुन पहिलो साताबाट फोहोर फ्यालिने तयारी भएको हो ।
हाल बन्चरे डाँडामा भौतिक निर्माणको कामहरु भइरहेको छ । महानगरपालिकाका वातावरण शाखाका प्रमुख हरि श्रेष्ठले बन्चरे डाँडामा फोहोर फागुन पहिलो साताबाटै फ्याल्न सुरु गरिने बताए ।
साइट निर्माणको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा फोहोर व्यवस्थापनका लागि जमिन तयार पार्ने काम भईरहेको छ भने, दोस्रो चरणमा त्यसलाई निरन्तता दिदै लैजाने काम हुने छ ।
मन्त्रालयले पहिलो चरणको काम गर्न लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई २०७५ बैशाख २२ मा ठेक्का दिएको थियो । भ्याट बाहेक ३४ करोड ६८ लाख ४७ हजार रुपैयाँमा बन्चरे डाँडा साइट निर्माणको ठेक्का दिएको हो । सो कम्पनीलाई १ वर्षमा काम सक्नेगरि उक्त ठेक्का दिइएको थियो ।
ल्याण्ड फिल निर्माणमा फोहोर व्यवस्थापनका लागि आवश्यक स्थान निर्माण, ड्रेनिङको प्रवाह सहितको जमिन तयार गर्ने, फोहोरबाट निस्किने ग्यास विसर्जनको व्यवस्थापनलगायत कार्यहरु समावेश गरिएका छन् ।
साइट निर्माणका क्रममा कोल्पु खोलापुल ३ बाट सडक विभागले निर्माण गरिसकेको सडकको अन्तदेखि बन्चरे डाँडाको फोहोर डम्पिङ साइटको १ सय ७० मिटरसम्म ग्राभेल एप्रोच सडक निर्माण गर्नुपर्ने छ ।
हाल निर्माणाधीन ल्याण्ड फिल साइट निर्माणका लागि सरकारले एक हजार ७ सय १९ रोपनी जग्गा तयार गरेको छ । निर्माण गर्न लागिएको विसर्जन स्थलमा धादिङ जिल्लाको धुनीबेंसी–१ का केही भाग र नुवाकोट जिल्लाको ककनी गाउँपालिका २ र ३ का केही भू–भाग पर्छन् ।
यसअघि भएको भौतिक विकास समितिको बैंठकमा सकेसम्म दशैँ अघि नै बन्चरे डाँडामा फोहोर फाल्न सुरु गरिने बताइएको थियो ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन साइट निर्माण गर्न मन्त्रिपरिषदले सहरी विकास मन्त्रालयलाई २०७५ मंसिर १७ गते जिम्मा दिएको थियो । बैशाख १२ गते बन्चरे डाँडामा शिलन्यास गरी त्यसको औपचारिक सुरुवात गरिएको हो ।
निर्माण कार्य ढिलो सुरु गरिएको भएपनि बन्चरेडाँडा ल्यान्ड फिल साइटको अवधारणात्मक स्वरूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष ०५८/५९ मै बनेको हो ।
दैनिक १ हजार मेट्रिकटन फोहोर उत्पादन
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार मेट्रिक टन र काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक ५ सय मेट्रिक टन फोहोर निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्पादन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको फोहोर फाल्ने ठाउँ निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहोर व्यवस्थापन गरिँदै आएको हो ।