काठमाडौं । पछिल्लो समय बजारमा सबैजसो दैनिक खाद्य पदार्थको मूल्य वृद्धि भएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार हाल दाल, तेल र मैदामा मूल्य वृद्धि भएको हो ।
अमेरिका र इरानबीच बढ्दो तनावले नेपालमा आयात हुने खाद्य पदार्थहरुको पनि मूल्यमा वृद्धि भइरहेको जानकारहरु बताउँछन् ।‘अमेरिका र इरान बीचको द्धन्दले विश्व बजारमै मूल्य वृद्धि भइरहेको छ । नेपालले धेरै खाद्य पदार्थ आयात गर्दै आएको छ, त्यसैले यहाँ खाद्य पदार्थमा मूल्य बढिरहेको छ’, वरिष्ठ खाद्य अधिकृत भीमप्रसाद तुलाधरले बताए ।
पछिल्लो समय दालमा ५ प्रतिशतका हाराहारीमा मूल्य वृद्धि भएको छ । तेलमा ५ देखि १० प्रतिशतका हाराहारीमा मूल्य वृद्धि भएको विभागका शाखा अधिकृत दीपक पोखरेलले बताए । मैदाको पिठोमा प्रतिकेजी ५ रुपैयाँ वृद्धि भएको हो ।
उनका अनुसार पछिल्लो समय मूल्य वृद्धि भएपछि व्यवसायीहरुसँग खाद्यको स्टक जानकारी माग गरिए पनि उनीहरुले दिन चाहेका छैनन् ।‘हामीले व्यवसायीहरुसँग स्टक कति छ भनेर मागेका थियौँ, उनीहरुले देखाउन चाहेका छैनन्,’ पोखरेललले चाणक्य पोष्टसँग भने ।
उनी नेपालमा दाल उत्पादन हुने भएता पनि त्यो नेपाली बजारमा विक्री नहुने बताउँछन् । नेपालमा मास र मुसुरोको दाल उत्पादन हुने गर्छ तर, ती दाल निर्यातका लागि प्रयोग गरिन्छ । म्यानमार, ब्राजिलबाट आयात हुने गरेको दाल नेपाली बजारमा विक्री वितरण हुने गरेको छ ।
नेपालमा उत्पादन हुने मुसुर र मासको दाल बंगलादेश निर्यात हुने गरेको उनले जानकारी दिए ।तेल सबै आयात गरेर प्रशोधन गरी विक्री वितरण गर्ने गरिन्छ भने मैदाको पिठोको लागि गहुँ भारतबाट नै आयात हुने गरेको छ । यसरी हरेक दैनिक खाद्य वस्तुमा परनिर्भर भएको हाम्रो मुलुकमा मूल्य वृद्धि हुनु खासै ठूलो कुरा होइन ।
यस्तै पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमै मूल्य वृद्धि भइरहेको हुँदा मूल्य नेपालमा पनि त्यसको असर परेको उनी बताउँछन् । नेपालमा आफ्नै उत्पादन खपत हुने अवस्था नहुनु र उपभोक्ताहरु आयातमा निर्भर हुँदा नेपालमा वर्षेनी ५ प्रतिशतका हाराहारीमा मूल्य वृद्धि भइरहेको पाइन्छ ।
हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने हाल सिमी ७ सय ३५ क्विन्टल, फापर ६ सय ४९ क्विन्टल, चामल १ लाख ७६ हजार ३ सय २६ क्विन्टल, गहु १ हजार ५ सय १० क्विन्टल र इन्डक्सन चूल्हो ७ हजार २ सय ४२ वटा स्टकमा रहेको जानकारी दिएको छ ।