निर्जीवन बीमा कम्पनीले ८ महिनामा बेचे पौने २१ लाख पोलिसी, शिखरको वर्चश्व कायमै

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार आएको छ । गत आर्थिक वर्षको फागुनको तुलनामा चालु आव २०८१/८२ को सोही अवधिमा निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन ८.९१ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको फागुनसम्म १८ निर्जीवन बीमा कम्पनी (१४ निर्जीवन र ४ निर्जीवन लघु बीमा)ले २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३४ करोड रुपैयाँ धेरै हो । गत वर्ष फागुनसम्म निर्जीवन बीमा कम्पनीले कुल २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको फागुनसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले ५७ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना बीमा कम्पनीहरूले कुल ९ खर्ब १६ अर्ब रुपैयाँ बीमांक बराबरको बीमा गरेका हुन् ।

चालु आवको फागुनसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल २० लाख ७३ हजार ४६३ वटा पोलिसी बिक्री गरेका छन् । यो गत वर्षको फागुनकोभन्दा १ लाख ११ हजार ४३९ वटा धेरै हो । गत वर्ष फागुनसम्म १९ लाख ६२ हजार २४ वटा पोलिसी बिक्री गरेका थिए ।

पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । गत वर्ष घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा चालु वर्षमा भने महिनैपिच्छे बढ्दो क्रममा छ ।

मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा सुधार आउँदा समग्र बीमा व्यवसायमा सुधार आएको हो । त्यस्तै, सम्पत्ति बीमा गर्ने बढ्दा पनि व्यवसायमा सुधार देखिएको हो ।

यद्यपि, यस वर्ष बीमा कम्पनीहरूले व्यवसाय बढाए पनि दायित्व पनि ह्वात्तै बढेको लछ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण १३ अर्ब रुपैयाँ बढीको दाबी परेको छ । यो बीमा कम्पनीहरूको ३ महिनाको व्यवसाय बराबर हो ।

व्यवसायमा शिखर अगाडि

समीक्षा अवधिमा युनाइटेड अजोड, प्रभु र राष्ट्रिय बीमा कम्पनी बाहेक अरु सबैको व्यवसाय बढेको छ ।

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्स नै लिडरको रुपमा देखिएको छ । ८ महिनामा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब १ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस अवधिमा शिखरले १ लाख ९७ हजार २५८ वटा पोलिसी बेचेको छ ।

त्यस्तै, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनीले ३ अर्ब ३२ करोड रुपैयाँको व्यापार गर्दै दोस्रो स्थानमा रहेको छ । यसले ८ महिनामा १ लाख ८५ हजार ८७ वटा पोलिसी बेचेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा शुल्क संकलनमा तेस्रो स्थानमा रहेको छ । ८ महिनामा सिद्धार्थले २ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ ।

त्यसैगरी, आइजीआई प्रुडेन्सियलले २ अर्ब ३७ करोड, हिमालयन एभरेष्टले २ अर्ब २१ करोड, नेकोले २ अर्ब १९ करोड, एनएलजीले १ अर्ब ८६ करोड, दी ओरेन्टलले १ अर्ब ७० करोड, युनाइटेड अजोडले १ अर्ब ६० करोड, सानिमा जीआइसीले १ अर्ब ५७ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

फागुनसम्म नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ७६ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

व्यवसाय बढाउँदै लघुबीमा कम्पनी

लघुबीमा कम्पनीहरूले पनि आफ्नो व्यवसाय बढाउँदै लगेका छन् । गत असारसम्म कुल निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा १ प्रतिशतभन्दा कम रहँदै आएकोमा चालु आवको फागुन आइपुग्दा २ प्रतिशत पुर्याएका छन् ।

४ निर्जीवन लघुबीमा कम्पनीले फागुनसम्म ५७ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको २.०३ प्रतिशत हो ।

अघिल्लो वर्षदेखि संचालनमा आएका लघुबीमा कम्पनीहरूले क्रमशः आफ्नो व्यवसाय बढाउँदै लगेका हुन् । फागुनसम्म नेपाल माइक्रो इन्स्योरेन्सले १६ करोड ६४ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १४ करोड ६३ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १३ करोड ५१ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो संचालनको कार्य योजना तयार Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो संचालनको कार्य योजना तयार

ठेक्का अलपत्र पार्ने चार निर्माण कम्पनी कालोसूचीमा Read Next

ठेक्का अलपत्र पार्ने चार निर्माण कम्पनी कालोसूचीमा