ठेक्का अलपत्र पार्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले ठेक्का अलपत्र पार्ने थप ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार ४ कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी गराएको हो ।

कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयले एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालोसूचीमा राखेको हो ।

ती कम्पनीहरुले ठेक्का सम्झौता अनुसार काम नगरेकाले कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । ओम प्रकाश श्रेष्ठको अरनिको निर्माण सेवालाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क-ढोरपाटन सडक योजना अर्घाखाँचीको सिफारिसमा अरनिकोलाई कालोसूचीमा राखिएको हो ।

त्यसैगरी, नुवाकोटको पञ्चकन्या गाउँपालिकाको सिफारिसमा रामशरण अधिकारीको आर.एस.ए. कन्स्ट्रक्सनलाई डेढ वर्ष, जिल्ला समन्वय समिति बाराको सिफारिसमा एस.डी कन्स्ट्रक्सनलाई र भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा मनकामना सप्लायर्सलाई १/१ वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

निर्जीवन बीमा कम्पनीले ८ महिनामा बेचे पौने २१ लाख पोलिसी, शिखरको वर्चश्व कायमै Read Previous

निर्जीवन बीमा कम्पनीले ८ महिनामा बेचे पौने २१ लाख पोलिसी, शिखरको वर्चश्व कायमै

कुलेखानीको तीन वटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइयो Read Next

कुलेखानीको तीन वटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइयो