एमसीसी अघि बढाउन अमेरिकाको अनुमति, ठेक्का लगाउने बाटो खुल्यो

काठमाडौं । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा नेपालमा संचालित कार्यक्रम अघि बढाउन अनुमति दिएको छ ।

अनुदान कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए-नेपाल)ले आफ्नो वेबसाइट मार्फत खरिद कार्य र कार्यालय सञ्चालन सम्बन्धी कार्य गर्न एमसीसीबाट अनुमति प्राप्त भएको जानकारी दिएको हो ।

गत २० जनवरी सत्ता सम्हाल्ने बित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिने सबै वैदेशिक सहायता रोकेको थिए । त्यसपछि एमसीसीले गत फागुन गते इमेलमार्फत एमसीसी परियोजना पनि ९० दिनका लागि स्थगित भएको जानकारी गराएको थियो ।

अहिले अमेरिकाले नेपाललाई दिने एमसीसी अनुदान निरन्तरता दिने/नदिने विषयमा यसको प्रभावबारे समीक्षा गरिरहेको छ । यसैबीच, अहिले रोकिएको काम अघि बढाउन एमसीसीबाट स्वीकृत आएको एमसीए नेपालले जानकारी दिएको छ ।

‘अमेरिकाको वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ । यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति कुनै संकेत भने गर्दैन,’ एमसीए नेपालले वेबसाइटमा उल्लेख गरेको छ ।

एमसीसीले खरिद कार्य र कार्यालय सञ्चालन सम्बन्धी कार्य गर्न अनुमति दिएको हो । यससँगै अब एमसीए नेपालले आवश्यक टेन्डर आह्वान र कार्यालय सञ्चालन सम्बन्धी काम गर्न सक्नेछ ।

‘अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्वपूर्ण खरिद कार्य र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य पर्छन् । एमसीए-नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ । एमसीए-नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने काम भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ,’ एमसीए नेपालले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार नै एमसीए नेपाललको बोर्ड बैठक समेत बसेको थियो । यद्यपि, त्यसको निर्णय भने सार्वजनिक भइसकेको छैन ।

एमसीसी अनुदानका लागि २९ भदौ ३०७४ मा द्धिपक्षीय सम्झौता भएको थियो भने २०८० भदौ २९ देखि कार्यान्वयनमा आएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदै छन् ।

एमसीसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन र सडक अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गरिने योजना छ ।

काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल भारतबीच ३ हजार मेगावाट बिजुली आदानप्रदान गर्न सकिने छ ।

योजना अन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत १८ किमीको ठेक्का लागिसकेको छ भने २९७ किमीको लागि अहिले ग्लोबल टेन्डर आह्वान भई प्रक्रियामा छ । सबस्टेशनतर्फ तीन वटैको ठेक्का लागिसकेको छ ।

तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का पाएको छ ।

त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले ठेक्का पाएको छ । यसको लागत ५ करोड १६ लाख अमेरिकी डलर छ । त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लिङ्कसन इण्डिया प्रालिले पाएको छ ।

एमसीसी ५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको परियोजना हो । यो कार्यान्वयनमा आएको डेढ वर्ष बढी भइसकेको छ ।

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले किस्तामा तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता Read Previous

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले किस्तामा तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता

सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद जारी गर्ने, प्रस्ताव पारित Read Next

सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद जारी गर्ने, प्रस्ताव पारित