काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । पछिल्लो समय क्रमशः आर्थिक गतिविधि बढ्न थालेसँगै सबैखाले पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ८ महिना (साउन–फागुन) मा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको खपत बढेको छ । गत वर्ष फागुनको तुलनामा चालु वर्षमा पेट्रोलियम पद्धार्थको खपत औसतमा ८.४२ प्रतिशतले बढेको छ ।
चालु वर्षमा मट्टीतेलको खपत सबैभन्दा धेरै १६.४८ प्रतिशतले बढेको छ । फागुनसम्म ८ हजार २८४ किलोलिटर मट्टीतेल खपत भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ हजार १७२ किलोलिटर धेरै हो । गत वर्ष फागुनसम्म ७ हजार ११२ किलोलिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत ८.८४ प्रतिशतले बढेको छ । फागुनसम्म ४ लाख ८९ हजार ८४२ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्षको तुलनामा चालु आवमा पेट्रोल खपत ३९ हजार ७९१ किलोलिटर बढेको छ । गत वर्ष सोही अवधिमा ४ लाख ५० हजार ५१ किलोलिटर आयात भएको थियो ।
चालु वर्षमा खाना पकाउने एलपी ग्यासको आयात ४.२८ प्रतिशतले बढेको छ । गत वर्ष फागुनसम्म ३४ करोड ७२ लाख ३८ हजार किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा ३६ करोड २० लाख ९५ हजार किलो आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा १ करोड ४८ लाख ५६ हजार किलो धेरै ग्यास आयात भएको छ ।
चालु आवमा डिजेल खपत ३.३५ प्रतिशतले बढेको छ । गत वर्ष फागुनसम्म ८ लाख ४३ हजार १७० किलोलिटर डिजेल आयात भएकोमा चालु आवमा बढेर ८ लाख ७१ हजार ३९९ किलोलिटर आयात भएको छ । चालु वर्ष २८ हजार २२९ किलोटिर धेरै डिजेल आयात भएको हो ।
त्यस्तै, हवाई इन्धन खपत पनि ९.१६ प्रतिशतले बढेको छ । चालु आवमा १ लाख ३९ हजार १५३ किलोलिटर हवाई इन्धन आयात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ११ हजार ६७५ किलोलिटर धेरै हो ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन अवधि बढ्दा डिजेलको खपत बढेको हो । कतिपय उद्योगहरूले नियमित बिजुली नपाउँदा पनि डिजेल खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेलको खपत बढेको हो ।
त्यस्तै, चालु आवमा ईभीको आयात बढे पनि पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो ।
पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो ।
विदेशिने रकम भने घट्यो
चालु वर्षको पेट्रोलियक पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने ४.२३ प्रतिशतले घटेको छ । गत वर्ष ८ महिनामा इन्धन खरिदका लागि कुल १ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ विदेशिएको थियो भने चालु आवको सोही अवधिमा १ खर्ब ७६ अर्ब १३ करोड बाहिरिएको छ ।
चालु वर्षमा इन्धन खरिदका लागि गत वर्षकोभन्दा ७ अर्ब ७८ करोड रुपैयाँ कम बाहिरिएको हो । आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य घट्दा विदेशिने रकम घटेको हो । गत वर्षको तुलनामा चालु वर्षमा विश्व बजारमा कच्चा तेलको भाउ सस्तिँदा विदेशिने रकम घटेको हो ।
आयात बढ्दा सरकारलाई साढे ३ अर्ब फाइदा
पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकाले सरकारले पाउने राजस्व पनि बढेको हो ।
गत वर्षको फागुनको तुलनामा चालु वर्षमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत ३ अर्ब ६१ करोड रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष फागुनसम्म इन्धन आयात बापत सरकारले ६८ अर्ब ८२ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु वर्षको सोही अवधिमा ७२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै ३४ अर्ब ७८ करोड, पेट्रोलबाट २७ अर्ब ८१ करोड, हवाई इन्धनबाट १ अर्ब ९८ करोड र खाना पकाउने एलपी ग्यासबाट ७ अर्ब ६४ करोड राजस्व असुली गरेको छ ।