काठमाडौं । चालु आर्थिक वर्षमा व्यवसायमा एनआइसी एसिया बैंकलाई गम्भीर धक्का लागेको छ । अधिकांश बैंकले व्यवसाय विस्तार गर्दा एनआइसीको भने निक्षेप संकलन र कर्जा लगानी दुवैमा भारी गिरावट आएको हो ।
आर्थिक शिथिलताका बाबजूद चालु आवको ८ महिना (साउन-फागुन)मा १९ बैंकले निक्षेप र १७ बैंकले कर्जा लगानी बढाएका छन् । तर, एनआइसी एसियाको भने निक्षेप र कर्जा लगानी दुवैमा उच्च गिरावट आएको छ ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आवमा एनआइसीबाट मात्रै ६१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । जबकि, यही अवधिमा अरु १९ बैंकले ३ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
गत असार मसान्तसम्म एनआइसीको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्त आइपुग्दा १७.१५ प्रतिशतले घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।
निक्षेप जस्तै कर्जा लगानीमा पनि भारी गिरावट आएको छ । ८ महिनामा एनआइसीको कर्जा लगानी ३५ अर्ब ४३ करोड रुपैयाँले घटेको छ । यस अवधिमा एनआइसीको कर्जा लगानी १२.४२ प्रतिशतले घटेको छ । जबकि, यही अवधिमा कर्जा लगानी बढाएका १७ बैंकले ३ खर्ब २० अर्ब रुपैयाँ ऋण दिएका छन् ।
८ महिनामा समग्रमा वाणिज्य बैंकहरूले २ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले निक्षेप घट्दा खासै असर नपरे पनि कर्जा लगानी घट्दा भने बैंकलाई ठूलो नोक्सानी हुन्छ । अहिले नयाँ कर्जाको माग नहुँदा बैंकहरू बीच एकअर्काको ऋण खोस्न तीव्र प्रतिस्पर्धा छ । त्यसको मारमा एनआइसी परेको हो ।
वाणिज्य बैंकहरूमा एनआइसीको बेसरेट उच्च छ । बेसरेट महँगो भएकाले बैंकको कर्जाको ब्याजदर पनि अरु बैंकको भन्दा धेरै छ । यस्तोमा अहिले अरु बैंकले ग्राहकलाई सस्तो ब्याजदरमा ऋण दिएर एनआइसीको कर्जा आफ्नो सारेको देखिन्छ ।
अर्थतन्त्रमा शिथिलता कायमै रहेकाले ऋणीले उल्लेख्य मात्रमा ऋण तिर्न सक्ने अवस्था छैन । त्यसैले, ऋणीले धमाधम महँगो ब्याजको ऋण सस्तो ब्याजदर भएका बैंकमा सारिरहेका छन् ।
व्यवसायमा आएको गिरावट प्रभाव एनआइसीको खुद नाफामा पनि परेको छ । माघसम्म एनआइसीले सबैभन्दा कम ४७ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।
कर्जा विस्तारमा ग्लोबल र एभरेष्ट आक्रमक
आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा ग्लोबल आइएमई र एभरेष्ट बैंक भने आक्रमक बनेका छन् । चालु आवको ८ महिनामा भएको कुल कर्जा लगानीको साढे २७ प्रतिशत कर्जा यी दुई बैंकले मात्र गरेका छन् ।
चालु आवमा ग्लोबल आइएमईले मात्रै ३९ अर्ब कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले ८ महिनामा गरेको कुल कर्जा लगानीको १४ प्रतिशत हो । फागुनसम्म ग्लोबलले सबैभन्दा धेरै ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
कर्जा लगानीको शीर्ष स्थानमा रहेको ग्लोबल निक्षेप संकलनमा भने पाँचौं स्थानमा रहेको छ । ८ महिनामा ग्लोबलले २८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप थपेको छ । ग्लोबलको कुल निक्षेप ५ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ ।
चालु आवमा एभरेष्टले दोस्रो धेरै ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो कुल कर्जा लगानीको १३.४३ प्रतिशत हो । निक्षेप संकलनमा भने एभरेष्ट चौथो स्थानमा रहेको छ । ८ महिनामा एभरेष्टले ३४ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजीका आधारमा अन्य बैंकभन्दा आधा सानो रहे पनि व्यवसाय विस्तारमा एभरेष्ट बैंक आक्रमक देखिएको हो ।
चालु आवमा व्यवसाय विस्तारमा एनएमबी बैंक पनि आक्रमक देखिएको छ । एनएमबी कर्जा लगानी र निक्षेप संकलन दुवैमा तेस्रो स्थानमा रहेको छ । ८ महिनामा एनएमबीले ३९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
त्यस्तै, ८ महिनामा इन्भेष्टमेन्टले सबैभन्दा धेरै ४५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानीमा पनि इन्भेष्टमेन्ट मेगा सातौं स्थानमा छ । ८ महिनामा यस बैंकले २२ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
कर्जा विस्तारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ । चालु आवको फागुनसम्म राष्ट्रिय वाणिज्यले २७ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिमा यस बैंकले १८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस अवधिमा नबिल बैंक निक्षेपमा संकलनमा तेस्रो र कर्जा लगानीमा छैटौं स्थानमा रहेको छ । ८ महिनामा नबिलले ३४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
कर्जा विस्तारमा लक्ष्मी सनराइज, प्राइम कमर्शियल, नेपाल र माछापुच्छ्रेले बैंक पनि अगाडि नै देखिएका छन् । ८ महिनामा लक्ष्मी सनराइजले २६ अर्ब, प्राइमले २२ अर्ब, नेपाल बैंकले साढे १७ अर्ब र माछापुच्छ्रेले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
त्यस्तै, सानिमाले १३ अर्ब ९० करोड, सिद्धार्थले १२ करोड, कुमारीले पौने ८ अर्ब, नेपाल एसबीआईले ६.८८ अर्ब, हिमालयनले ४ अर्ब र कृषि विकासले १ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
३ बैंकको कर्जा लगानी घट्यो
चालु आवमा १७ बैंकको कर्जा लगानी बढ्दा एनआइसीसहित प्रभु र स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने कर्जा लगानी उल्टो घटेको छ ।
महिनामा एनआइसीको सबैभन्दा धेरै ३५ अर्ब ४३ करोड रुपैयाँले कर्जा लगानी घटेको छ । त्यस्तै, प्रभुको १ अर्ब ३५ करोड र चार्टर्डको ३ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी घटेको हो ।