काठमाडौं । वीरगंज सुक्खा बन्दरगाहमा ट्यांक कन्टेनर आउन थालेको छ। आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो ।
बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो।
सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत सस्तिने अनुमान छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले ट्यांक कन्टेनरको सेवा सुरू भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्ने बताए ।
‘हामीले यसै वर्षबाट कोइरालाको व्यवस्थापन गर्न सुरू र्गर्यौं र अब कच्चा तेलको व्यवस्थापन पनि सुरू गरेका छौं,’ उनले भने, ‘बन्दरगाहरूको क्षमता वृद्धि गर्नुका साथै आधुनिकीकरण पनि गरिरहेका छौं।’
सन् २००४ देखि सञ्चालनमा आएको वीरगंज सुक्खा बन्दरगाहमा सुरूमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेकोमा गत वर्ष असारदेखि लुज कार्गो (कोइला) आउन थालेको थियो।
अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु सुरू गरेपछि वीरगंज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ।
ट्यांक कन्टेनर पूर्ण रुपमा सिल भएर आउने भएकोले बाटोमा तेल चोरीका घटना न्यूनीकरणमा हुने र ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्या समेत समाधान हुने भएको छ ।