शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत मात्रै

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

मन्त्रालयका निम्ति रू. ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो । विनियोजित रकममध्ये चालुतर्फ रू. ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगततर्फ रू. ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो ।

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत भएको छभने पूँजीगत तर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । चालु आवमा शहरी विकास मन्त्रालय (संघीय कार्यालय)बाट कार्यान्वयन हुने ३ हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ ।

बोलपत्र आह्वान भएका १ हजार ६२३ वटा कार्यक्रममध्ये पनि १ हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छ भने १२४ वटा पूरा भएका छन् । यसैगरी, बाँकी २ हजार ९३ वटा कार्यक्रम मध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार १ हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम)मध्ये चालु आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

त्यसैगरी, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएका छन् ।

यसैवर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन १ लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट २ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको उक्त मन्त्रालयले जानाकारी गराएको छ ।

पोखरा-छेन्दु व्यवसायिक चाटर्ड उडान सुरू, भाडा कति ? Read Previous

पोखरा-छेन्दु व्यवसायिक चाटर्ड उडान सुरू, भाडा कति ?

रोकिएन नेप्सेको गिरावट, परिसूचक २७०० बिन्दु तल झर्‍यो Read Next

रोकिएन नेप्सेको गिरावट, परिसूचक २७०० बिन्दु तल झर्‍यो