पोखरा-छेन्दु व्यवसायिक चाटर्ड उडान सुरू, भाडा कति ?

काठमाडौं । सिचुवान एयरलायन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यवसायिक ‘चाटर्ड’ उडान सुरू गरेको छ ।

मंगलबार छेन्दुबाट १२८ जना यात्रु बोकेर आएको सिचुवान एयरलाइन्सकाे न्यारोबडी एयरबस-३९१  जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सोही जहाज आजै पोखराबाट १२६ यात्रु बाेकेर छेन्दु उडेकाे छ । पोखराबाट पहिलोपटक भएकाे व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पर्यटन व्यवसायी लगायत छेन्दु गएकाे छ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास पछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल र पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाइन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गरिएको हो ।

संचालनमा आएको २ वर्षसम्म नियमित व्यवासाियक उडान हुन नसेको पोखरा विमानस्थलमा अब भने सिचिुवानले नियमित चार्टर्ड उडान गर्ने भएको छ ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट ३ वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

‘पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरू गरेको हो,’ उनले भने, ‘तीनवटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।’

चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ ।

चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरूवाती उडानमा सहकार्य गरिरहेको छ । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

उनका अनुसार आगामी ३ महिनासम्ममा करिब १ हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

पहिलो व्यावसायिक उडानका क्रममा हुने सात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जानकारी लिइने कार्यक्रम तय गरिएको छ ।

पोखरा भ्रमण वर्षलाई सहयोग

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको पहिलो व्यावसायिक चाटर्ड उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण बन्ने विश्वास लिइएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस उडानको सुरूवातसँगै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनुका साथै समग्र पर्यटन राजधानी पोखराको पर्यटकीय विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

पोखरा–छेन्दु उडान सञ्चालन हुँदा पोखरामा चिनीयाँ पर्यटक लक्षित पूर्वाधारमा कुनै कमी नरहेको यहाँको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका होटेल तथा रेष्टुरेण्टबाट पर्यटकलाई सेवा प्रवाह भइरहेको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

१४ वटा संघीय अस्पतालमा नयाँ सेवा थपिँदै Read Previous

१४ वटा संघीय अस्पतालमा नयाँ सेवा थपिँदै

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत मात्रै Read Next

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत मात्रै