काठमाडौं । प्रदेश नम्बर ३ सरकारले हेटौडामा कृषि औजार कारखाना निर्माण गर्ने भएको छ । प्रदेश ३ आगामी आर्थिक वर्षमा हेटौडामा कृषि औजार कारखाना निर्माण सुरु गर्ने जनाएको हो । प्रदेश ३ कृषि तथा भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार आगामी आर्थिक वर्षमा २ करोड रुपैयाँको लगानीमा कृषि औजार कारखाना निर्माण गर्न लागिएको हो ।

कृषि यान्त्रीकरणलाई विस्तार गर्दै लैजाने योजना अनुसार प्रदेश सरकारले कृषि औजार कारखाना निर्माण गर्न लागेको उनले जानकारी दिए । उक्त कृषि औजार कारखाना निर्माण सम्पन्न हुन २ देखि ३ वर्ष लाग्ने जानकारी दिए । ‘अबको दिनहरुमा कृषि यान्त्रीकरणको विस्तारलाई अघि बढाउँदै लैजानुपर्ने हुन्छ, त्यसका लागि प्रदेश सरकार मातहत हेटौडामा कृषि औजार कारखाना खोल्ने योजना बनाइएको हो,’ गदालले चाणक्यपोष्टसँग भने ।
यस्तै प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको असार २२ गते भित्र १३ वटै जिल्लामा कृषि औजार वितरण गरिने उनले जानकारी दिए । कृषिलाई यान्त्रीकरण बनाउदै लैजान कृषि यन्त्र वितरणको कामलाई प्रदेशले तिब्र गतिमा अघि बढाइरहेको उनले दाबी गरे । कृषि उत्पादन वृद्धिको लागि यान्त्रीकरण मुख्य काम भएको मान्दै प्रदेश सरकारले चालु आर्थिक वर्षमा नै १९ करोड रुपैयाँ मूल्य बराबर रकम खर्च गरेर किसानहरुलाई कृषि औजार किन्दा ५० प्रतिशत अनुदान दिएको छ ।
अनुदानमा दिइएका मेशिनहरु जमिन खान्ने तथा कान्ला तास्नेदेखि बिउ छर्ने, बाली काट्ने, थ्रेसिङ गर्नेसम्म रहेको मन्त्रालयले जनाएको छ ।