काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रालि (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ ।
सम्झौतापत्रमा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।
सिबिफिनका महानिर्देशक रोशन कोइरालाले यो सहकार्यले नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी बनाउनका लागि कोशेढुंगा हुने बताए ।
‘काठमाडौं फिनटेकसँगको यो महत्वपूर्ण सहकार्य नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी बनाउनका लागि कोसेढुंगा सावित हुनेछ,’ उनले भने ।
काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले बैंकिङ नेतृत्वकर्ताहरूलाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेक सम्बन्धी विश्वस्तरीय ज्ञान प्रदान गर्ने अवसर पाउनु ठूलो उपलब्धि रहेको बताए ।
‘नेपालको बैंकिङ क्षेत्रको गुणात्मक सुधार, विकास एवं विस्तारमा अविछिन्न क्रियाशील सिबिफिनसँगको यस रणनीतिक साझेदारीमा संलग्न हुन पाउँदा उत्साहित छौँ । नेपाली बैंक तथा वित्तीय संस्थाहरूका सञ्चालक समिति सदस्यहरू र लब्धप्रतिष्ठित बैंकिङ नेतृत्वकर्ताहरूलाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेक सम्बन्धी विश्वस्तरीय ज्ञान प्रदान गर्ने अवसर पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो । यो सहकार्यले डिजिटल बैंकिङ, प्रविधि सञ्चालित नवप्रवर्तन र समग्र वित्तीय सेवाहरूको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्नेछ,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यहरूका लागि नवीनतम प्रविधि, नीति, अभ्यास, नियमन, सुशासन, अनुपालना, रणनीतिक वित्तीय व्यवस्थापन, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधि एवं फिनटेक अपनाउने प्रक्रिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम तथा प्रशिक्षण कार्यक्रम र उच्चस्तरीय सम्मेलन आयोजना गर्ने, रणनीतिक नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धिका विशेष तालिम संचालन गर्ने, सामाजिक एवं आर्थिक रुपान्तरणका लागि बैंकिङ पहुँच एवं समावेशी वित्तीय साक्षरता प्रवद्र्धन, नैतिक बैंकिङ अभ्यास, तथा सुशासन अभिवृद्धि गर्ने परियोजनाहरू सञ्चालन गर्ने कार्यमा सहकार्य गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यसैगरी बैंकिङ क्षेत्रका जल्दाबल्दा चुनौती एवं अवसर, उद्यमशीलता एवं नवप्रवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन समेत सार्वजनिक गरिने जनाइएको छ ।
सम्झौताअनुसार काठमाडौं फिनटेकले कार्यक्रम आयोजना, स्रोत व्यवस्थापन तथा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ भने सिबिफिनले आफ्नो सञ्जाल तथा रणनीतिक मार्गदर्शनमार्फत परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्नेछ ।
डिजिटल रूपान्तरणमा यात्रारत नेपालको बैंकिङ क्षेत्रलाई अझ डिजिटल प्रविधिमैत्री, रणनीतिक रूपमा सशक्त, तथा सुशासनकेन्द्रित बनाइ अझ मजबुत बनाउनका लागि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने साझेदारको विश्वास रहेको छ ।