
काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न कोही पनि व्यक्ति इच्छुक नदेखिएको पाइएको छ ।
साझाले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तका लागि गत पुस २९ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । तर, आवेदन दिने अन्तिम मितिसम्म दुई जनाले मात्र आवेदन दिएपछि पर्याप्त नभएको भन्दै साझाले आइतबार पुनः दराखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले आजको २१ दिनभित्र आवेदन दिन भित्र साझा यातायातको प्रधान कार्यालय पुलचोकमा आवेदन दिन सक्नेछन् ।
पहिलोपटक दरखास्त आह्वान हुँदा अर्घाखाँचीका यदुनाथ पौडेल र काठमाडौंका मिलनकुमार शाक्यले मात्र आवेदन दिएका थिए । साझाको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि २०८१ मा कम्तीमा तीन जनाको दरखास्त पर्नुपर्ने उल्लेख छ । सो अनुसार आवेदकको संख्या नपुगेपछि पुनः आवेदन माग गरेको हो।
आवेदकको न्यूनतम योग्यता मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
साथै, दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष पुगी ५८ वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, सार्वजनिक वा संगठित संघसंस्थामा दशौं तह वा सो सरहको काम गरेको, सार्वजनिक वा यातायात व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ ।