काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निमाणका लागि टेन्डर आह्वान भएको छ ।सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भएसँगै सडक डिभिजन कार्यालय भक्तपुरले (बुधबार) ठेक्का आह्वान गरेको हो ।
कार्यालयले नेपालथोक-बर्खेखोला सडकखण्ड निर्माण गर्न ठेक्का आह्वान गरेको हो । ५ किलोमिटरको यो खण्डमा दुई लेन सडक बनाइनेछ ।
सरकारले उक्त सडक पुनर्निर्माण गरिदिन जापानी सहयोग नियोग जाइकालाई आग्रह गरेका थियो । जाइकाले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि सरकारले आफ्नै स्रोतमा ठेक्का प्रक्रिया अघि बढाएको हो ।
सरकारले बाढीले क्षतिग्रस्त २८ किलोमिटर सडकलाई काभ्रेमा तीन र सिन्धुलीमा एकसहित चार प्याकेज बनाएर निर्माणको काम अघि बढाउन लागेको हो । बाँकी तीन खण्डको ठेक्का चाँडै आह्वान गरिने कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएको थियो । अर्थले भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डमा १ अर्ब रुपैयाँ गरी कुल साढे ८ अर्ब रुपैयाँको स्रोत सहमति दिएको छ ।
यसैबीच, डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्ग अन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।
आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ ।
क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा ८ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।
राजमार्गको धुलिखेल-नेपालथोक र नेपालथोक-खुर्कोट सडकखण्ड अस्थायी रुपमा मर्मतका लागि सरकारले हालका लागि २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।