काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब रुपैयाँभन्दा बढी देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांङ अनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ छ ।
यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५३ करोड ४७ लाख रुपैयाँ बढी रहेकेो कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रू. १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म रू. ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ । यो वार्षिक लक्ष्यको ५०.२ प्रतिशत हो ।
फागुनसम्म सरकारले कर राजस्वतर्फ रू. ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ४९.७४ प्रतिशत हो । त्यस्तै, गैरकर राजस्वतर्फ रू. १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात रू. ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ ।
पूँजीगत खर्च दयनीय
यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङअनुसार फागुन मसान्तसम्ममा पूँजीगत खर्च वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्रै छ ।
सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा रू. ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू. ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रू. १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५.१२ प्रतिशत अर्थात रू. ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ ।
चालु शीर्षकमा रू. ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१.२१ प्रतिशत अर्थात रू. ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू. ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७.०७ प्रतिशत अर्थात रू. १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ ।
९ अर्ब पायो अनुदान
सरकारको वैदेशिक अनुदान सङ्कन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि रू. ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७.५१ प्रतिशत अर्थात रू. ९ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।