काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान एफपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तीमध्ये भाग्यमानी ३ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ५७ हजार बढीको हात रित्तो भएको छ ।
लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।
जसमा १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।