चैतमा अधिकांश बैंकको ब्याजदर स्थिर, दुइटाले घटाए, कुनको कति ?

काठमाडौं । चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १७ बैंकले फागुनकै ब्याजदर स्थिर राखेका छन् भने कुमारीले बढाएको छ । हिमालयन र नेपाल बैंकले भने घटाएका छन् ।

२०८० कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले यो वर्ष पुसदेखि भने स्थिर राख्दै आएका छन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका थिए ।

तर, ब्याजदर निकै सस्तिएपछि बैंकहरूबाट निक्षेप बाहिरिन थालेको छ । त्यसैलाई, मध्येनजर गर्दै अधिकांश बैंकहरूले चैतमा पनि फागुनकै ब्याजदर कायम राखेका हुन् । साथै, पछिल्लो दिनमा कर्जाको माग केही बढ्न थालेकाले पनि बैंकहरूले निक्षेपको ब्याजदर थप नघटाएका हुन् ।

चैतमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.९६ प्रतिशत रहेको छ । फागुनमा ६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चैतमा ०.०४ प्रतिशत बिन्दुले घटेर ५.९६ प्रतिशतमा झरेको छ ।

त्यस्तै, चैतमा संस्थागत निक्षेपको ब्याजदर ०.०६ प्रतिशतले घटेको छ । फागुनमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा चैतमा घटेर ४.४३ प्रतिशतमा झरेको छ ।

चैतका लागि हिमालयन बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.७५ प्रतिशत र नेपाल बैंकले ०.१० प्रतिशत बिन्दुले घटाएको छ । कुमारी बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.१० प्रतिशत बिन्दुले बढाएको छ ।

चैतमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.१ प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनआइसी एशियाले सर्वाधिक ६.६ प्रतिशत ब्याजदर दिने भएको छ भने नेपाल एसबीआइ र लक्ष्मी सनराइजले सबैभन्दा कम ५.५ प्रतिशत ब्याज दिने भएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।

बैंकहरूले यसअघि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले औसत बेसरेट ७ प्रतिशतभन्दा तल झरिसकेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि निकै घटेको छ ।

बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।

कर्जाको माग बढ्न नसक्दा महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता छ । चालु आवको ७ महिनामा बैंकहरूले करिब २ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।

२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  चीनको छेन्दु उडान हुँदै Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  चीनको छेन्दु उडान हुँदै

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा