काठमाडौं । ठूला लगानीकर्ताहरूले ऋण लिएर आक्रमक रूपमा सेयर खरिद गर्न थालेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता, सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको लचकता र ब्याजदर सस्तो भएको मौका छोपी लगानीकर्ताले धमाधम ऋण लिएर सेयर किन्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ) मात्रै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ सेयर कर्जा (मार्जिन प्रकृतिको) कर्जा लिएका छन् । चालु आवमा सेयर कर्जा लगानी २७.८ प्रतिशतले बढेको हो ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा चालु आवको माघ मसान्त आइपुग्दा २५ अर्बले बढेर १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
चालु आवमा बैंक तथा वित्तीय संस्थाले गरेको कुल कर्जा लगानीको ९.२७ प्रतिशत कर्जा सेयरमा लगानी गरेका हुन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ७ महिनामा कुल २ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । सोमध्ये २५ अर्ब सेयरमा लगानी गरेका हुन् ।
चालु आवमा बैंक तथा वित्तीय संस्थाले मासिक औसथतमा ३ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा दिएका छन् । जसमा भदौमा सबैभन्दा धेरै ८ अर्ब ३२ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए ।
त्यस्तै, साउनमा १ अर्ब ३५ करोड, असोजमा ६ अर्ब ६ करोड, कात्तिक १ अर्ब ९४ करोड, मंसिरमा १८ करोड, पुसमा ५ अर्ब ८३ करोड र माघमा १ अर्ब ३३ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । चालु आवमा औसतमा मासिक ३ अर्ब ९५ करोड रुपैयाँको सेयर कर्जा लगानी भएको छ ।
गत आव २०८०८१ मा करिब १४ अर्ब सेयर कर्जा लगानी भएको थियो । तर, राष्ट्र बैंकको कडाइका कारण सोभन्दा अगाडिका दुई वर्षमा सेयर कर्जा लगानी ३० अर्ब रुपैयाँले घटेको थियो ।
करोड बढी ऋण लिने ३७ प्रतिशतले बढे
चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बढीको सेयर कर्जा लगानी ह्वात्तै बढेको छ । राष्ट्र बैंकका अनुसार चालु वर्षको ७ महिनामा १ करोड बढीको सेयर कर्जा लगानी २६.६ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा माघ मसान्तमा आइपुग्दा बढेर ७६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । ७ महिनामै १ करोड माथिको सेयर कर्जा २० अर्ब ४७ करोड रुपैयाँले बढेको हो । राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा हटाएसँगै ठूला लगानीकर्ताले धमाधम ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।
त्यस्तै, चालु आवमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी १७ प्रतिशत अर्थात् २ अर्ब ११ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म यस्तो कर्जा लगानी १४ अर्ब ५४ करोड रुपैयाँ छ ।
त्यसैगरी, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी १२.७ प्रतिशत अर्थात् १ करोड ८३ लाख रुपैयाँले बढेको छ ।
ठूलो कर्जाको तुलनामा २५ लाख मुनिको सेयर कर्जा लगानी वृद्धिदर भने न्यून छ । ७ महिनामा यस्तो कर्जा लगानी ८.२ प्रतिशत अर्थात् ६० करोड ११ लाख रुपैयाँले बढेको छ । पछिल्लो समय सानोभन्दा ठूलो रकम लिने लगानीकर्ता ह्वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यसकारण बढ्दै सेयर कर्जाको माग
पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लगायत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।
अर्थतन्त्रमा आएको शिथिलता कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूलक, निमार्ण लगायत क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन भने सेयर, घरजग्गा, चालूपूँजी, व्यापार कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकको कडाइका कारण विगतमा सेयर कर्जा लगानी गर्न चासो नदिएका बैंकहरूले अहिले नीतिगत लचकतासँगै आक्रमक बन्न थालेका हुन् ।
राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो । त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।
अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले २०८० कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ७ प्रतिशतभन्दा तल झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले साढे ७ प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ ।