गौतमबुद्ध विमानस्थलमा फेरि आउन थाले विदेशी एयरलाइन्स, चार वटाले उडान भर्दै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः विदेशी एयरलाइन्सले उडान भर्न थालेका छन् । मौसम सुधार र विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी-एआर) प्रणाली जडान गरिएपछि विदेशी एयरलाइन्सहरूले पुनः नियमित उडान गर्न थालेका हुन् ।

गत कात्तिकमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु गरिएपछि उडान कटौती गरिँदा विदेशी एयरलाइन्सहरूले भैरहवा विमानस्थलबाट उडान सुरु गरेका थिए । गत मंसिरसम्म पाँच वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका थिए । प्रतिकूल मौसम र यात्रु अभावको कारण देखाउँदै विदेशी एयरलाइन्सहरूले पुसदेखि भैरहवा विमानस्थलमा उडान रोकेका थिए भने अहिले फेरि सुरु गरेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् ।

अहिले भैरहवा विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरिरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएसँगै विमानस्थल चलायमान बन्ने र अन्य एयरलाइन्स पनि आकर्षित हुने विश्वास व्यक्त गरे ।

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौँ भएर उडान गर्दै आएको छ । जजिरा एयरवेज र थाई एयर एसियाले गत माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका विमानस्थल कार्यालयले जनाएको छ । फ्लाई दुबईले एकमहिना अघिदेखि पुनः उडान सुरु गरेको थियो । जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकदेखि उडान सुरु गरेका हुन् ।

गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कुल ११५ उडानमार्फत ६ हजार ८७९ यात्रुको आवागमन भएको महाप्रबन्धक तिवारीले जानकारी दिए । आगामी दिनमा यात्रुको चाप बढ्दै जाने उनको भनाइ छ ।

भिजिबिलिटी समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत माग १० देखि गौतमबुद्ध विमानस्थलमा भूउपग्रहमा आधारित आरएनपी-एआर प्रणाली जडान गरी कार्यान्वयनमा ल्याएको थियो ।

उक्त विमानस्थलमा ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रणाली लागू गरिने भनिए पनि भारतले अनुमति नदिएपछि विकल्पको रुपमा क्यानले आरएनपी-एआर प्रणाली जडान गरेको हो ।

आरएनपी(एआर प्रणाली जडान भएपछि अहिले भैरहवा विमानस्थलमा ८०० मिटर भिजिबिलिटीमै उडानरअवतरण गर्न सकिन्छ । त्यसअघि यान्त्रिक विधि (आइएफआर) मा उडानरअवतरण गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी कम्तीमा १ हजार ८०० मिटर बढि चाहिन्थ्यो । सोही कारण देखाउँदै पुसदेखि विदेशी एयरलाइन्सले उडान रोकेको थिए ।

२०७९ जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अझै पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन । सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन सरकारले ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धन, हवाई टिकटमा भ्याट छुट लगायत सुविधा दिएको छ । तर, अपेक्षित रुपमा विदेशी एयरलाइन्सहरू आकर्षित हुन सकेका छैनन् ।

एशियाली विकास बैंकको ८ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोगमा उक्त विमानस्थल निर्माण गरिएको थियो । संचालनमा आएको ३ वर्ष पुग्दा समेत पूर्ण क्षमतमा चल्न नसकेपछि हाल संचालन खर्च समेत धान्न सक्ने अवस्था छैन ।

कालिगण्डकी करिडोरको कागबेनीदेखि कोरलासम्म कालोपत्र गरिँदै Read Previous

कालिगण्डकी करिडोरको कागबेनीदेखि कोरलासम्म कालोपत्र गरिँदै

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?