काठमाडौं । अब भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरू अनिवार्य रूपमा पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार हाल भुक्तानी प्रणाली सञ्चालन गरिरहेका अनुमतिप्राप्त संस्थाहरूले २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भइसक्नुपर्नेछ ।
यो निर्देशन लागू हुनु अघि निजी कम्पनीका रूपमा सञ्चालन भइरहेका भुक्तानी प्रणाली सञ्चालकहरूले तोकिएको समय भित्र आवश्यक प्रक्रियाहरू पूरा गरी पब्लिक बनीसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
‘भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्य रूपमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हुनुपर्ने छ । यो निर्देशन जारी हुनु अघि भुक्तानी प्रणाली सञ्चालकको रूपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत भइसक्नुपर्ने छ,’ राष्ट्र बैंकद्धारा संशोधित भुक्तानी प्रणालीसम्बन्धी निर्देशनमा भनिएको छ ।