
काठमाडौं । जीवन बीमालेख समपर्ण (पोलिसी सरेन्डर) अत्यासलाग्दो रुपमा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन-माघ)मा मात्रै साढे ८ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको माघ मसान्तसम्म १४ जीवन बीमा कम्पनीका बीमितले ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरी रकम फिर्ता लगेका छन् । यस अवधिमा कुल ६२ हजार ५२३ वटा पोलिसी पोलिसी सरेन्डर भएका हुन् ।
चालु आवमा भएको पोलिसी सरेन्डर बीमा कम्पनीहरूले यही अवधिमा गरेको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क)को ४६.६१ प्रतिशत रकम बराबर हो । चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ४३ करोड रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन छन् । जबकि यही अवधिमा ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो ।
बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । पोलिसी सरेन्डर घटाउन नियामक निकाय र बीमा कम्पनीहरूले प्रयास गरे पनि रोकिन सकेको छैनन् । नयाँ व्यवसाय विस्तार सुस्त भइरहँदा पुराना पोलिसी पनि धमाधम सरेन्डर हुन थालेपछि जीवन बीमा कम्पनीहरूको व्यवसायमै धक्का पर्न थालेको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो ।
अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा देखिएको बीमा व्यवसायीहरू बताउँछन् । आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।
आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् । विगतमा नियमित रूपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । ऋण खोजेर प्रिमियम तिर्नुभन्दा संकटको बेलामा पोलिसी सरेन्डर गरेर भएको पैसा निकाल्नु नै उपयुक्त हुने बीमितको बुझाइ देखिन्छ । जसले पोलिसी सरेन्डर झनै बढाएको बीमकहरू बताउँछन् ।
त्यस्तै, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याले पनि बीमा व्यवसाय प्रभावित भएको देखिन्छ । सहकारीमा पैसा राखेका हरूले ब्इाज र आफ्नो पैसा फिर्ता नपाउँदा पनि बीमितले प्रिमियम तिर्न नसकेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अधिकारीहरू भने अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको बताउँछन् । त्यस्तै, एउटा कम्पनीमा काम गरिरहेको एजेन्ट कमिसनको लोभमा अर्को कम्पनीमा जानले पनि पोलिसी सरेन्डर बढेको उनीहरूको भनाइ छ ।
बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।
राष्ट्रिय जीवन र एलआइसीको प्रथम बीमशुल्कभन्दा सरेन्डर धेरै
माघसम्म सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र एलआइसी नेपालको सरेन्डर रकम नयाँ व्यवसायभन्दा पनि धेरै रहेको छ । अर्थात् यी कम्पनीले चालु आवमा संकलन गरेको प्रथम बीमा शुल्कभन्दा पोलिसी सरेन्डर गरेर फिर्ता लगेको रकम धेरै छ ।
पोलिसी सरेन्डरदर नयाँभन्दा पुराना कम्पनीको धेरै देखिएको छ । तुलनात्मक रुपमा नयाँ सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायल नेपाल लाइफ, आईएमई लाइफलगायतको सरेन्डर दर कम रहेको देखिन्छ ।
चालु वर्षको ७ महिनामा सबैभन्दा ठूलो धक्का लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललाई लागेको छ । यस अवधिमा एलआइसीका १५ हजार ३६२ बीमितले पोलिसी सेन्डर गरेका छन् । उनीहरूले २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको ३०.२४ प्रतिशत हो ।
एलआइसीबाट बीमितले फिर्ता लगेको पैसा कम्पनीले चालु आवको ७ महिनामा गरेको नयाँ व्यवसायको झण्डै दोब्बर बढी हो । माघसम्म एलआइसीले १ अर्ब ५४ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क संकलन गरेको छ । जबकि, यही अवधिमा बीमितले २ अर्ब ५९ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको पनि २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको १४ हजार २५ वटा पोलिसी सरेन्डर भएको छ । नेपाल लाइफको पनि नयाँ व्यवसायको आध बढी रकम सरेन्डर भएको छ । माघसम्म नेपाल लाइफले ४ अर्ब ५९ करोड रुपैयाँ नयाँ बीमाशुल्क संकलन गर्दा २ अर्ब ३६ करोडको पोलिसी सरेन्डर भएको हो ।
त्यस्तै, माघसम्म राष्ट्रिय जीवन बीमा कम्पनीको पनि नयाँ व्यवसायभन्दा पोलिसी सरेन्डर रकम धेरै छ । माघसम्म यस कम्पनीले नयाँ बीमालेखबाट ५१ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा ७८ करोड ६४ लाख लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
यस अवधिमा नेशनल लाइफको ५५ करोडको ३ हजार ७२० वटा, एशियन लाइफको ५४ करोड १९ लाख रुपैयाँको ५ हजार १११ वटा, सूर्यज्योति लाइफको ४६ करोड ९९ लाख रुपैयाँको ३ हजार ४८३ वटा र हिमालयन लाइफको ३७ करोड ८१ लाख रुपैयाँ बराबरको ४ हजार १३७ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यसैगरी, मेट लाइफको २४ करोड १२ लाखको २ हजार ९५ वटा, सानिमा लाइफको १५ करोड ३६ लाखको १ हजार ७७ वटा, सिटिजन लाइफको १५ करोड ३६ लाखको १ हजार ६६० वटा, प्रभु महालक्ष्मी लाइफको १२ करोड ४६ लाखको ८८२ वटा, आइएमई लाइफको १२ करोड ३१ लाखको १ हजार ७३ वटा, रिलायबल नेपाल लाइफको ६ करोड ४३ लाखको ९६५ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक छ ।
६ महिनामा सबैभन्दा कम पोलिसी सरेन्डर सन नेपाल लाइफका बीमितले गरेका छन् । यसका ४४२ बीमितले ४ करोड ५५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् ।