काठमाडौं । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनको काम गर्न १८० जना जनशक्ति तयार पार्ने भएको छ ।
महानगरले आइतबारदेखि आफ्ना नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम दिन सुरु गरेको हो ।
राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी छन् ।
तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिनेछ । यसरी सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिनेछ ।
तालिम शुभारम्भ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले, सहरी व्यवस्थापनको समेत अधिकार भएकोले नगर प्रहरी बलबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने अपेक्षा राखे ।
‘ट्राफिक व्यवस्थापनको काम कानुन कार्यान्वयन मात्र होइन । नागरिकका आवश्यकताको पूर्ति गर्दै प्रदान गर्नु पर्ने सेवा हो । यसकारण कानुन कार्यान्वयनको दायित्व पाएको ट्राफिक प्रहरीभन्दा सहरी व्यवस्थापनको दायित्व पाएको नगर प्रहरीबाट ट्राफिक व्यवस्थापनको काम प्रभावकारी रुपमा सम्पादन हुन सक्छ,’ उनले भने ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताए ।