
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ पाएका छन् । विशेष अदालतले आइतबार सिलवाल माथि लागेको भ्रष्टाचारको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई भ्रष्टाचारको आरोपमा सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते सिलवाल विरुद्ध नागरिकता केरमेट गरेर ३ वर्ष उमेर घटाई ३६ लाख ६२ हजार रुपैयाँ लाभ लिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
अख्तियार सिलवालले नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको पाइएको अख्तियारको दाबी थियो । तर, अदालतले उक्त आरोप पृष्टि हुन नसकेको भन्दै सफाइ दिएको हो ।
सिलवाल निलम्बनमा परेपछि सरकारले हालै प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरिसकेकाे छ ।