बिजुलीको महसुल नतिर्ने तुलसीपुरका ८८८ ग्राहको लाइन् काटियो

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।

तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ८८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए। उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो ।

लाइन काटिएका ८८८ ग्राहकबाट ४२ लाख ४२ हजार १९९ रुपैयाँ उठाउन बाँकी छ । यीबाहेक १ हजार ७३३ ग्राहकबाट ३ करोड १३ लाख ९२ हजार ३३६ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।

माघ मसान्तसम्म ८६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट ७ करोड ५९ लाख ५३१ राजश्व सङ्कलन भएको छ । अग्रिम विद्युत् महशुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म रु १३ लाख नौ हजार ४९८ अग्रिम भुक्तानी हुने गरेको छ । आल अनलाइनबाट विद्युत् महशुल बुझाउने व्यवस्था छ । तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।रासस

अब सबै खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्नुपर्ने Read Previous

अब सबै खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्नुपर्ने

युरोपियन उत्पादनलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको योजना Read Next

युरोपियन उत्पादनलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको योजना