मौद्रिक नीति समीक्षापछि नेप्सेमा उछाल, सूचक ६ महिना यताकै उच्च बिन्दुमा

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंकहरूको नाफा बढ्न सहयोग पुग्ने व्यवस्था गरेपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेले झण्डै हाफ सेञ्चुरीको छलाङ मारेको हो ।

राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनदर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ । यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढ्न र लाभांश क्षमता समेत बढ्न सहयोग पुर्याउँछ । एकीन तथ्यांक नभए पनि राष्ट्र बैंकको यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूको समग्रमा ५ अर्ब रुपैयाँ बढी नाफा बढ्ने बैंकरहरूको आकलन छ ।

त्यस्तै, बैंकहरूले ‘नन् डेलिभरेवल फरवार्ड’मा प्राथमिक पूँजीको १५ प्रतिशत मात्रै लगानी गर्न पाउने सीमालाई बढाएर २० प्रतिशत पुर्याएको छ । त्यसैगरी, घुवित्तहरूले पनि आगामी जेठदेखि बेसरेटको आधारमा कर्जाको ब्याजदर तय गर्न पाउने व्यवस्था गरेको छ । यी व्यवस्थाले लगानीकर्ता आशावादी बन्दा सूचकमा उच्च वृद्धि भएको हो ।

पछिल्लो समय अधिकांश सूचक सेयरबजारमैत्री हुँदा पनि नेप्सेले अपेक्षित गति लिन सकेको छैन । डेढ वर्ष यता ब्याजदर घट्दो क्रममा छ । बैंकिङ प्रणालीमा इतिहासकै धेरै तरलता थुप्रिएको छ । राष्ट्र बैंकले एकपछि अर्को लचकता अपनाउँदै आएको छ । अनुकूल सूचकका कारण आगामी दिनमा भने बजारले गति लिने लगानीकर्ताको अपेक्षा छ । जसकारण अहिले धमाधम सेयर किनिरहेका छन् । फागुन लागेपछि दैनिक १० अर्ब हाराहारीमा कारोबार हुँदै आएको छ ।

बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको छ । यो पछिल्लो ६ महिना यताकै उच्च विन्दु हो । नेप्सेमा आज लगातार आठौं दिन वृद्धि भएको छ । फागुन ४ गतेदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ८ कारोबार दिनमा नेप्से १३६ अंकले बढेको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा वृद्धि भएको छ । बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै ३.३२ प्रतिशतले बढेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९६ करोड ४७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको दोस्रो धेरै ७६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अपर हेवा खोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज भूगोल इनर्जीका सेयरधनीले भने सर्वाधिक ७.१७ प्रतिशत गुमाएका छन् ।

कुलमानको जवाफ-'लगाइएका सबै आरोप मनोगत हुन्, हटाउने अधिकार मन्त्रालयलाई छैन' (पूर्णपाठ) Read Previous

कुलमानको जवाफ-'लगाइएका सबै आरोप मनोगत हुन्, हटाउने अधिकार मन्त्रालयलाई छैन' (पूर्णपाठ)

विमानस्थलबाट पौने ४ किलो सुनसहित चार विदेशी पक्राउ Read Next

विमानस्थलबाट पौने ४ किलो सुनसहित चार विदेशी पक्राउ