काठमाडौं । अब करिब ७० करोड नेपाली रुपैयाँ (५० लाख अमेरिकी डलर)मा अमेरिककाको नागरिकता किन्न पाइने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा गर्दै यस्तो व्यवस्था गरेका हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार ट्रम्पले गरेको घोषणा नीति अनुसार ‘गोल्ड कार्ड’ किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् । साथै, अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ ।
‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं । तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५०० मिलियन डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्,’ ट्रम्पले भनेका छन् ।
ट्रम्पले गोल्ड कार्ड बिक्री दुई साताभित्रै सुरू गर्ने बताएका छन् । दशौं लाख विदेशीले यो कार्ड खरिद गर्ने उनको अपेक्षा छ ।
‘के तपाईंले रूसी अर्बपतिलाई पनि यो कार्ड बिक्री गर्दै हुनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘हो, सम्भवतः । म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल छन् ।’
अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले उक्त कार्डले अमेरिकी सरकारको ‘ईबी-५’ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । ‘ईबी-५’ले विदेशी लगानीकर्तालाई रोजगारी सिर्जनाका लागि अमेरिकी परियोजनामा लगानी गर्न अनुमति दिन्छ । त्यसपछि मात्र उनीहरूले आप्रवासनका लागि भिसा आवेदन दिन सक्छन् ।
सन् १९९२ मा सुरू भएको ‘ईबी-५’ भिसा कार्यक्रमको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यस कार्यक्रम अन्तर्गत एक व्यक्तिले कम्तीमा १० लाख ५० हजार अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।