काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो ।
महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको समेतको प्रबन्ध मिलाएको छ ।
प्रहरीले आजका लागि जयबागेश्वरी पश्चिम सिफलचौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय परिसर, भण्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडि र वनकाली क्षेत्रमा पार्किङको व्यवस्थापन गरेको छ।
त्यस्तै, शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राखेर नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ।
प्रहरीका अनुसार आजका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ। त्यस्तै रातोपुल–तिलगंगा खण्ड, मित्रपार्क–गौरीघाट, सिफल–जयबागेश्वरी, गोल्डेनगेट कलेज, काभ्रेडेरी, भीमसेन गोला, सिनामंगल हुँदै गौशालातर्फ आउने भित्री सडकहरू पनि बन्द गरिएको छ।
त्यस्तै, चाबहिल चोकबाट दक्षिणतर्फ जाने सबै सहायक बाटाहरू पनि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।
महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चावहिल, गौशाला, तिलगङ्गा हुँदै अन्य स्थानमा जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।