फेसबुकमा विरोध गरेपछि दूधकोशी जलविद्युतका सीईओ हटाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई पदबाट हटाउन निर्देशन दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेख्दै मन्त्रालयले गुरुङलाई तत्काल पदबाट हटाउन भनेको हो ।

गुरुङले सामाजिक संजाल फेसबुक मार्फत ऊर्जामन्त्री दीपक खड्का, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले गरेका कामको विरोध गरेका थिए ।

यसअघि नै मन्त्री खड्काले गुरुङलाई हटाउन मौखिक निर्देशन दिएका थिए । मौखिक निर्देशनले काम नगरेपछि अहिले पत्रमार्फत प्राधिकरणलाई दबाब दिएका हुन् ।

‘तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा। मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

६३५ मेगावाटको दूधकोशी जलाशययुक्त परियोजना एसियाली विकास बैंकको नेतृत्वको ऋण लगानीमा निर्माण हुँदैछ ।

 

एक सातापछि नियमित काममा फर्किए अर्थमन्त्री पौडेल Read Previous

एक सातापछि नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

जुम्लाको सबै वडा सडक सञ्जालमा जोडिए Read Next

जुम्लाको सबै वडा सडक सञ्जालमा जोडिए