निर्माण स्थल टुङ्गो नलाग्दा कोटेश्वरमा बन्ने आकाशेपुल अन्योलमा

काठमाडौं । कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेकाले निर्माण अघि बढ्न नसकेको हो ।

 

डिभिजन सडक कार्यालयले कोटेश्वर चोक नजिकै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । काठमाडौँ महानगरपालिका–३२ ले सो पुल कोटेश्वर चोकभन्दा पनि तीनकुने नजिक हुनुपर्ने माग गर्दै आएको छ ।

 

अहिलेसम्म स्थान सार्ने कि नसार्ने भनी निर्णय भइनसकेको डिभिजन सडक कार्यालय काठमाडौँका इञ्जिनीयर सुदर्शन कार्कीले बताए । कोटेश्वर चोकमा बस बिसौनी नजिकै पर्ने गरी पुल निर्माणको योजना बनाइएको उनले बताए । उनले भने, “वडा कार्यालयसँगको सल्लाहमा स्थानको निर्णय भएपछि नै निर्माण अघि बढ्नेछ ।”

 

सडक विभागले चालू आर्थिक वर्षमा कोटेश्वर र नयाँबानेश्वर चोकमा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । काठमाडौँका पैदल यात्रुको चाप बढी भएका स्थान छनौट गरेर पुल निर्माण गर्न लागिएको इञ्जिनीयर कार्कीले बताए।

 

विगतमा काठमाडौँ महानगरपालिकाले नै नगरभित्र आकाशे पुल निर्माण गर्दै आएको भए पनि चालू आवमा उसको योजना नभएकाले सरकारले योजना अघि बढाएको हो । नयाँबानेश्वर चोकमा गत पुसमा नै पुल निर्माणको अवधि सकिए पनि अझै सम्पन्न भइसकेको छैन ।

मालपोत साँखुका नायब सुब्बा घुससहित पक्राउ Read Previous

मालपोत साँखुका नायब सुब्बा घुससहित पक्राउ

उखु किसानलाई भुक्तानी दिएपछि महालक्ष्मी सुगर मिल सञ्चालन Read Next

उखु किसानलाई भुक्तानी दिएपछि महालक्ष्मी सुगर मिल सञ्चालन