सुपारी, केराउ र मरिच आयातको कोटा हटाइयाे, नयाँ उद्योगले पनि ल्याउन पाउने

काठमाडौं । सरकारले सुपारी, मरिच (कालो तथा सेतो) र केराउको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको हो ।

मन्त्रालयले यी वस्तु आयातमा लगाउँदै आएको परिमाणात्मक बन्देज समेत हटाउँदै आयात खुलाएको हो । बिहीबार प्रकाशित राजपत्रमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रूपमा केराउ, सुपारी, मरिच पैठारी गर्न अनुमति दिने उल्लेख छ ।

तर, कति परिमाणमा दिने खुलाइएको छैन । परिमाण नखुलाउनुको अर्थ उद्योगहरूले आफू अनुकूल जति परिमाणमा पनि सुपारी, केराउ र मरिच आयात गर्न पाउने छन् । यसअघि निश्चित परिणाम तोकेर मात्रै आयात गर्न दिइँदै आएको थियो ।

तस्करी गरेर मनग्ये नाफा कमाउन पाउने भएपछि बिचौलियाहरूले परिमाणत्मक बन्देज हटाउन सरकारसँग लबिङ गर्दै आएका थिए । व्यापारीले अन्यदेशबाट सुपारी आयात गर्ने र भारतर्फ तस्कर गर्दै आएका छन् ।

सुपारी, केराउ, मरिच र छोकडाको तस्करी बढेपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७६ चैत २४ गते निकासी पैठारी (नियन्त्रण) ऐनको व्यवस्था अनुसार यी वस्तु पैठारीमा बन्देज लगाएका थिए । तर, २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशन गर्दै परिमाणात्मक बन्देज लगाउँदै आयात खुलाइएको थियो । अहिले उक्त परिमाणत्मक बन्देज पनि हटाइएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा सरकारले उत्पादनमूलक उद्योगलाई कच्चा पद्धार्थको रुपमा वार्षिक सुपारी २५ हजार टन, केराउ ८० हजार टन, छोकडा ५ हजार टन, नधुलाएको मरिच १५ हजार टन आयात गर्न सक्ने गरी परिमाणात्मक बन्देज लगाइएको थियो । त्यसयता सुपारी, केराउ र मरिच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर वर्षेनी आयातको अनुमति दिइएको थियो । अहिले उक्त कार्यविधि नै खारेज गरेर परिमाणत्मक बन्देज हटाइएको हो ।

नयाँ उद्योगले पनि आयात गर्न पाउने

मन्त्रालयले नयाँ खुलेका उद्योगलाई समेत सुपारी, केराउ र मरिच आयातको अनुमति दिएको छ । यसअघि सुपारी आयात गर्न कम्तीमा पनि उद्योग संचालनमा आएको हुनपर्ने व्यवस्था थियो ।

‘नयाँ स्थापना भएका उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि भ्याट, प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि र उद्योगको उत्पादन क्षमता उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि चाहिन्छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा लगायतको विवरण पेस गर्नुपर्छ ,’ राजपत्रमा भनिएको छ ।

सञ्चालनमा रहेका उद्योगले यी वस्तु आयात गर्दा उद्योग दर्ता प्रमाणपत्र, कम्पनी अद्यावधिक भएको पत्र र भ्याट–प्यान दर्ताको प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।

त्यस्तै, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ पैठारी गरेको भए पैठारीको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाण लगायतको विवरण पनि पेस गर्नुपर्नेछ ।

नेपालमा इन्डोनेसिया, मलेसिया लगायत देशबाट सुपारी आयात हुन्छ । चालु आर्थिक वर्षको ६ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ८४ लाखको सुपारी आएको थियो ।

फागुन १८ गतेदेखि एफपीओ जारी गर्दै स्वरोजगार लघुवित्त Read Previous

फागुन १८ गतेदेखि एफपीओ जारी गर्दै स्वरोजगार लघुवित्त

क्यानडामा ८० जना सवार जहाज अवतरणका क्रममा पल्टियो Read Next

क्यानडामा ८० जना सवार जहाज अवतरणका क्रममा पल्टियो