
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ५२.६३ प्रतिशतले बढेको छ ।
चालु आवको पुस मसान्तसम्म नेप्सेमा सूचीकृत ५० लघुवित्तहरूले कुल २ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा ९३ करोड ९१ लाख रुपैयाँ धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म लघुवित्तहरूले कुल १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
समीक्षा अवधिमा लघुवित्त संस्थाहरूको खुद ब्याज आम्दानी बढ्दा, नेपाल राष्ट्र बैंकको लचकता, घट्दो ब्याजदर, खराब कर्जामा सुधार आउँदा नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तहरूको खुद ब्याज आम्दानी २५.०७ प्रतिशतले बढेर १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय अर्थतन्त्रमा सुधारका केही संकेत देखिँदा लघुवित्तहरूको कर्जा लगानी बढ्न थालेको छ । जसकारण उनीहरूको ब्याज आम्दानी बढेको हो ।
त्यस्तै, बैंकको ब्याजदर सस्तिँदा पनि लघुवित्तहरूको नाफा बढ्न सहयोग पुगेको हो । अधिकांश लघुवित्तहरूले बैंकहरूबाटै पैसा सापटी लिएर कर्जा लगानी गर्छन् । बैंकको ब्याजदर सस्तिँदा ब्याज खर्च घट्न गई नाफा बढेको हो ।
त्यसैगरी, राष्ट्र बैंकको लचकता कारण पनि लघुवित्तहरूको नाफा बढ्न पुगेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना सुविधा दिएको थियो । साथै, कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा झारेको थियो । यी सुविधाले पनि लघुवित्तहरूको नाफा बढाएको हो ।
साथै, पछिल्लो समय कर्जा असुलीमा केही सुधार आई खराब कर्जा घट्दा नाफा बढ्न सहयोग गरेको छ । समीक्षा अवधिमा लघुवित्तहरूको खराब कर्जा औसतमा ०.५८ प्रतिशतले घटेको छ ।
१८ लघुवित्तको नाफा दोब्बरले बढ्यो
समीक्षा अवधिमा अवधिमा ५० मध्ये ३५ लघुवित्तको नाफामा सुधार आएको छ । जसमा १८ लघुवित्तको नाफा शतप्रतिशत अर्थात् दोब्बरभन्दा धेरैले बढेको छ । त्यस्तै, गत वर्ष घाटामा रहेको ११ लघुवित्त यस वर्ष नाफामा गएका छन् ।
समीक्षा अवधिमा स्वाभिमान लघुवित्तको नाफा सबैभन्दा धेरै ३४९२.०५ प्रतिशतले बढेको छ । त्यस्तै, निर्धन उत्थानको ४३१.४७ प्रतिशत, हिमालयन ३९६.०६ प्रतिशत, एनआइसी एशिया २८१.०१ प्रतिशत, मिथिला लघुवित्त १८१.३ प्रतिशत, महिला १७५.५७ प्रतिशत, आरम्भ चौतारी, १६१.४२ प्रतिशत, उन्नति सहकार्यको १५६.०४ प्रतिशतले नाफा बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा ग्लोबल आइएमई, कालिका, स्वरोजगार, सम्पदा, नेशनल, सीवाइसी नेपाल, डिप्रोक्स र गुराँस लघुवित्तको नाफा दोब्बरभन्दा धेरैले बढेको छ ।
धेरै कमाउने साना किसान
५० लघुवित्त मध्ये समीक्षा अवधिमा साना किसान विकास लघुवित्तले सबैभन्दा धेरै ५१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा साना किसानले खुद नाफा १७.०१ प्रतिशतले बढाएको छ ।
त्यस्तै, छिमेक लघुवित्तले ५१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा छिमेकको नाफा १७.३३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा यी दुई बाहेक अरु ३ लघुवित्तले २० करोड रुपैयाँ बढी नाफा कमाएका छन् । जसमा डिप्रोक्स साढे २४ करोड, नेशनल साढे २१ करोड र जीवन विकासले साढे २० रकोड नाफा कमाएको छ ।
दोस्रो त्रैमाससम्म ग्रामीण विकासले साढे १८ करोड, निर्धन् उत्थानले साढे १३ करोड, ग्लोबल आइएम्ईले ११ करोड ८१ लाख, स्वरोजगारले ८ करोड ८० लाख, मेरो माइक्रोफाइनान्सले ८ करोड, महिला सवा ७ करोड, विजय ७ करोड, सम्पदा ६ करोड र फर्स्टले ५ करोड रुपैयाँ नाफा कमाएको छ । अरु लघुवित्तको नाफा ५ करोड रुपैयाँभन्दा कम छ । जसमा फरवार्ड, आत्मनिर्भर, उन्नति सहकार्य लगायत ९ लघुवित्तको खुद नाफा १ करोडभन्दा कम छ ।
८ लघुवित्त घाटामा
समीक्षा अवधिमा ५० मध्ये ८ लघुवित्त भने घाटामा रहेका छन् । गत वर्ष ११ लघुवित्त घाटामा थिए । गत वर्ष घाटामा रहेका ८ लघुवित्त यस वर्ष नाफामा गएका छन् भने यस वर्ष घाटामा गएका ५ लघुवित्तहरू गत वर्ष नाफामा थिए ।
समीक्षा अवधिमा नेष्डो समृद्धि लघुवित्त सबैभन्दा धेरै १३ करोड ५१ लाख रुपैयाँ घाटामा छ । गत वर्ष नेष्डो २ करोड ८४ लाख नाफामा थियो ।
त्यस्तै, समीक्षा अवधिमा इन्फिनिटी ९ करोड ४६ लाख, मातृभूमि लघुवित्त ८ करोड १४ लाख, नेरुडे मिर्मिरे ६ करोड २७ लाख, समता घरेलु डेढ करोड, विन नेपाल १ करोड २४ लाख, सामुदायिक १ करोड ८ लाख र जनउत्थान ७९ लाख रुपैयाँ नोक्सानीमा छ ।