१२ जीवन बीमा कम्पनीको नाफा बढ्यो, धेरै कमाउने नेपाल लाइफ, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूको खुद सुधार आएको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा १४.९१ प्रतिशतले बढेको हो ।

हाल संचालनमा रहेको १४ जीवन बीमा कम्पनीले चालु वर्षको पुस मसान्तसम्म कुल ३ अर्ब २२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४१ करोड ७८ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म जीवन बीमा कम्पनीले कुल २ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा अधिकांश कम्पनीको खुद बीमा शुल्क संकलन र कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो । कोभिडपछि शिथिल बनेको बीमा व्यवसाय पछिल्लो समय सुधार हुँदै गएको छ । यसले कम्पनीहरूको आम्दानी बढाएको छ ।

पछिल्लो समय निक्षेपको ब्याजदर घट्दा ब्याज आम्दानी घटे पनि पोलिसी धितोमा प्रवाह गर्ने कर्जा रकम बढाउँदा समग्रमा आम्दानी बढेको हो ।

१२ कम्पनीको नाफा बढ्यो

समीक्षा अवधिमा १४ मध्ये १२ जीवन बीमा कम्पनीको खुद नाफा बढेको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ इन्स्योरेन्सको मात्र नाफा घटेको छ ।

दोस्रो त्रैमासमा सिटिजन लाइफको नाफा सर्वाधिक ८६.७८ प्रतिशतले बढेको छ । त्यस्तै, एशियन लाइफको ५६.५५ प्रतिशत, रिलायबल नेपाल लाइफको ५१.७० प्रतिशत, मेट लाइफको १४.८१ प्रतिशत नाफा बढेको छ ।

त्यसैगरी, नेपािल लाइफको ९.४५ प्रतिशत, नेशनल लाइफको ९.४० प्रतिशत, हिमालयन लाइफको ८.७३ प्रतिशत, सानिमा लाइफको ५.४४ प्रतिशत, लाइफ इन्स्योरेन्सको ३.८१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.४९ प्रतिशत र सूर्यज्योति लाइफको ३.३७ प्रतिशतले नाफा बढेको छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सर्वाधिक ४३.५५ प्रतिशतले घटेको छ । त्यस्तै, सन नेपाल लाइफको १४.०५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ बन्यो सर्वाधिक कमाउने

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । गत वर्षको तुलनामा ९.४५ प्रतिशतले नाफा बढाएको नेपाल लाइफले पुससम्म ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, हिमालयन लाइफले ३७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । पुससम्म रिलायबल नेपाल लाइफले ३५ करोड ३ लाख, सन नेपाल लाइफले २८ करोड २२ लाख, नेशनल लाइफले २७ करोड ९१ लाख, एशियन लाइफले २५ करोड ३ लाख, सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख र सिटिजन लाइफले २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, मेट लाइफले २२ करोड २५ लाख, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ करोड १८ लाख नाफा कमाएको छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम ८० लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एकैपटक अर्थ मन्त्रालयका १४ सहसचिवको जिम्मेवार हेरफेर, भन्सारको महानिर्देशकमा भट्टराई Read Previous

एकैपटक अर्थ मन्त्रालयका १४ सहसचिवको जिम्मेवार हेरफेर, भन्सारको महानिर्देशकमा भट्टराई

तोलामै २३०० रुपैयाँ बढ्यो सुनको भाउ Read Next

तोलामै २३०० रुपैयाँ बढ्यो सुनको भाउ