काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १८ बैंकले पुसकै ब्याजदर स्थिर राखेका छन् भने ग्लोबल आइएमईले बढाएको छ भने लक्ष्मी सनराइजले घटाएको छ ।
२०८० कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले यो वर्ष पुसदेखि भने स्थिर राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका थिए ।
ब्याजदर निकै सस्तिएपछि बैंकहरूबाट निक्षेप बाहिरिन थालेको छ । त्यसैलाई, मध्येनजर गर्दै अधिकांश बैंकहरूले फागुनमा पनि माघकै ब्याजदर कायम राखेका हुन् । साथै, पछिल्लो दिनमा कर्जाको माग बढ्न थालेकाले पनि बैंकहरूले निक्षेपको ब्याजदर थप नघटाएका हुन् ।
फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ६ प्रतिशत रहेको छ । फागुनमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने औसतमा ०.०१ प्रतिशत बिन्दुले घटेको छ । माघमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ४.५ प्रतिशत रहेकोमा फागुनमा घटेर ४.४९ प्रतिशतमा झरेको छ ।
फागुनका लागि लक्ष्मी सनराइजले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ भने ग्लोबल आइएम्ईले ०.२५ प्रतितश बिन्दुले नै बढाएको छ ।
फागुनमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.१ प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनआइसी एशियाले सर्वाधिक ६.६ प्रतिशत ब्याजदर दिने भएको छ भने नेपाल एसबीआइ र लक्ष्मी सनराइजले सबैभन्दा कम ५.५ प्रतिशत ब्याज दिने भएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।
बैंकहरूले यसअघि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले औसत बेसरेट ७ प्रतिशतभन्दा तल झरिसकेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि निकै घटेको छ ।
बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।
कर्जाको माग बढ्न नसक्दा महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता छ । चालु आवको ६ महिनामा बैंकहरूले करिब साढे २ खर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।
२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।