काठमाडौं । देशका ७५३ वटै स्थानीय तहमा क वर्गका वाणिज्य बैंकका शाखा पुगेका छन् । सोमबार एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको साइपाल गाउँपालिकास्थित धलौनमा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै देशका सबै पालिका वाणिज्य बैंकका शाखा पुगेका हुन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो।
यो एभरेष्ट बैंकको १२९औं शाखा कार्यालय हो।उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए।
साथै अब सानोतिनो बैंकिङ सेवाको लागि पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताउँदै अन्य सुविधाहरू पनि विस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे।
एभरेष्ट बैंकले १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटीएमबाट १४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।