काठमाडौं । बैंकिङ क्षेत्रका चार संस्थाहरूले बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै अराजक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।
उनीहरूले सामाजिक संजालहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक संजालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना, समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिन अनुरोध गरेका छन् ।
साथै, आमसर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरूलाई आग्रह गरेका छन् ।
‘यस संघहरूसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्णरूपमा सुरक्षित रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको छ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति नियमहरूको अधिनमा रहेर प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको उनीहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (वासेल लगायत) को व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणको रूपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘बैंकिङ क्षेत्र प्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्नुहुने समस्त ग्राहकवर्गहरू तथा आम जनमानसमा सही सूचनातथ्य पुर्याउन सहयोग गर्नुहुने संचार माध्यमहरू लगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवा-सुविधाहरूलाई आगामी दिनहरूमा अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।