सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।

आयोजना प्रबद्र्धक बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रवर्द्धक कम्पनीका अनुसार वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ ।

करिब १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २७.३७९ गिगावट आवर विद्युत् उत्पादन हुनेछ । वर्षायाममा १८.६२१ गिगावट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजना र नेपाल विद्युत् प्राधिकरण बीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सबस्टेसनमा जोडिने छ ।

ऋण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताए। उनले लगानीकर्ता डुब्न नदिने र समयमै पर्याप्त प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा फड्को मार्नुपर्नेमा जोड दिँदै राबा बैंकले सुरुआतदेखि नै जलविद्युत् क्षेत्रमा लगानी गर्दै आइरहेको बताए। उनले वित्तीय अनुशासनमा रहेर निर्धारित अवधिमा आयोजना सम्पन्न गर्न कम्पनी सफल हुने विश्वास व्यक्त गरे ।

जलविद्युत् क्षेत्रमा अनुभव हासिल गरिसकेको सो समूहले ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ ।

अरुण भ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Previous

अरुण भ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

गल्फ लुब्रिकेन्ट्सको रिटेलर र ग्यारेज मेकानिक्स मिट सम्पन्न Read Next

गल्फ लुब्रिकेन्ट्सको रिटेलर र ग्यारेज मेकानिक्स मिट सम्पन्न